‘मैले आफ्नो करिअरमै कहिल्यै लगातार तीन खेल हारेको थिइनँ’
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले लगातार तेस्रो खेलमा पराजय बेहोरेपछि टोलीका श्रीलंकाली स्टार अलराउन्डर चमिका करुणारत्नेले आफ्नो क्रिकेट करिअरमै पहिलो पटक यस्तो तितो अनुभव गरेको बताएका छन्।
लुम्बिनी लायन्सविरुद्धको खेलमा पराजित भएपछि आयोजित पत्रकार सम्मेलनमा करुणारत्नेले लगातार तीन खेलको हार आफ्ना लागि निकै निराशाजनक रहेको बताए।
“मैले आफ्नो अहिलेसम्मको व्यावसायिक क्रिकेट करिअरमा कहिल्यै पनि लगातार तीन खेल हारेको थिइनँ,” करुणारत्नेले भने, “यो मेरो लागि पहिलो र निकै कठिन क्षण हो। तर आशा छ, अर्को खेलमा यस्तो हुने छैन। हामी अब एकजुट भएर मैदान उत्रनेछौँ।”
‘अब बाँकी ४ खेलमध्ये कम्तीमा ३ जित्नैपर्छ’
प्रतियोगितामा ७ मध्ये ३ खेल गुमाइसकेको पोखराका लागि अब प्लेअफ पुग्न बाँकी चारै खेल ‘गर या मर’ को स्थितिमा पुगेका छन्।
यसबारे बोल्दै उनले भने, “हामीलाई प्लेअफ पुग्न अब बाँकी ४ मध्ये कम्तीमा ३ खेल जित्नैपर्छ, चार वटै जित्न सके अझ राम्रो हुन्छ। काम सजिलो छैन, तर क्रिकेट अनिश्चितताको खेल हो, यहाँ जे पनि सम्भव छ। हामीले हारको बहाना बनाउनु भन्दा पनि गल्तीहरू स्वीकारेर अघि बढ्नुपर्छ।”

९५ प्रतिशत खेलाडी फेरियो, अब खेलाडीलाई ब्याक गर्नुपर्छ
लगातार टोली परिवर्तन भइरहेको सन्दर्भमा उनले हाँस्दै भने, “हामीले सुरुवाती तीन खेलमै लगभग ९५ प्रतिशत खेलाडी परीक्षण गरिसक्यौँ, अब त स्टाफहरू मात्र खेल्न बाँकी छ। सबै परिवर्तन भइसकेको छ, अब हामीले खेलाडीहरूलाई विश्वास (ब्याक) गर्नुपर्छ। सबैले एकजुट भएर मैदानमा लड्ने स्पिरिट देखाउनु जरुरी छ।”
विपक्षी बलर ट्रम्पलम्यान र नेपाली प्रतिभाको प्रशंसा
करुणारत्नेले लुम्बिनी लायन्सका नामिबियाली तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानको कसिलो बलिङको खुलेर प्रशंसा गरे। उचाइको फाइदा उठाउँदै ट्रम्पलम्यानले पिचको बाउन्सलाई राम्रोसँग प्रयोग गरेको उनको भनाइ थियो।
साथै, लुम्बिनीका कप्तान रोहित पौडेलले संयमित भएर टिमलाई जिताएको भन्दै उनले प्रशंसा गरे। पहिलो पटक नेपाल आएका चमिकाले नेपाली खेलाडीहरूको ऊर्जा, फिल्डिङ र एथलेटिसिजम उत्कृष्ट रहेको बताए।
कात्तिक १७, २०८३ मंगलबार २१:१०:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।