सुरुङ खनी भेरी नदी पार गरेर डोल्पा कारागारबाट आठ कैदी भागे

सुरुङ खनी भेरी नदी पार गरेर डोल्पा कारागारबाट आठ कैदी भागे

सुर्खेत : जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका छन्। भेरी नदीको किनारमा अवस्थित कारागार भवनबाट शुक्रबार राति उनीहरू सुरुङ खनी भाग्न सफल भएका हुन्।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जुनु हमालका अनुसार कारागारमा रहेका कुल १७ जना कैदीबन्दीमध्ये झन्डै आधा अर्थात् आठ जना एकैपटक फरार भएका हुन्।

फरार हुनेमा विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका ६ जना र पुर्पक्षका लागि थुनामा रहेका २ जना छन्। घटना सार्वजनिक भएलगत्तै सुरक्षा निकायले जिल्लाभर खोजी अभियान तीव्र पारेको प्रजिअ हमालले जानकारी दिइन्।

कारागार परिसरबाटै सुरुङ खनेर कैदीहरू भागेपछि कारागारको सुरक्षा व्यवस्था र निगरानीमाथि गम्भीर प्रश्न खडा भएको छ।

कैदीहरूले सुरुङ खन्न प्रयोग गरेका औजार कारागारभित्र कसरी पुगे र लामो समयसम्म पहरा दिइरहेका सुरक्षाकर्मीले त्यसको सुइँकोसमेत किन पाएनन् भन्ने विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान थालेको छ।

कारागार भेरी नदी किनारमै रहेकाले नदीतर्फ सुरुङ खोलेर उनीहरू बाहिरिएको प्रारम्भिक अनुमान गरिएको छ। सो क्षेत्रमा नदी तर्न पुलसमेत रहेकाले फरार कैदीहरू कुन बाटो प्रयोग गरेर भागे भन्ने यकिन हुन सकेको छैन।

प्रहरीले सम्भावित नाकाहरू सिल गरी फरार व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ।

हेमन्त केसी/नेपाल न्यूज बैंक

कात्तिक १४, २०८३ शनिबार १०:२२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।