भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, जोमसोम–कोरला सडक अवरुद्ध
मुस्ताङ : अर्नब चक्रवातका कारण उपल्लो मुस्ताङमा परेको भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तरको वर्षाले जनजीवन प्रभावित भएको छ।
शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले जानकारी दिए।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि तल्लो क्षेत्रमा पनि शुक्रबार रातिदेखि नै अविरल वर्षा भइरहेको। छ। कात्तिक महिनामै पहिलोपटक यति बाक्लो हिमपात भएपछि उपल्लो मुस्ताङका बस्ती, खर्क र पाटनहरू हिउँले ढाकिएका छन् भने अत्यधिक चिसो बढेको छ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी गुरुङले शुक्रबार रातिदेखि सुरु भएको भारी हिमपात अझै जारी रहेको बताए। हिमपातसँगै चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित भएको उनले बताए।
कोरला नाकामा आवागमन बन्द
नेपाल–चीन सीमास्थित कोरला नाका र आसपासका क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको न्हेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)ले जनाएको छ। बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार हिमपातका कारण जोखिम बढेपछि कोरलातर्फको सडकमा सवारीसाधन तथा पर्यटकको आवागमन रोकिएको छ। न्हेचुङबाट कोरला नाका जाने र न्हेचुङबाट जोमसोम झर्ने भन्सार जाँचपास भइसकेका कन्टेनर तथा विद्युतीय सवारीसाधनलाई समेत आवागमन नगर्न भनिएको छ।
मौसम सामान्य नभएसम्म नेपाल–चीन सीमा व्यापार तथा निकासी–पैठारी कारोबार सञ्चालन नगर्न अनुरोध गरिएको सशस्त्र प्रहरी निरीक्षक धितालले बताए।
यसैबीच, वर्षाका कारण जोमसोम–कोरला सडकखण्ड पनि अवरुद्ध भएको छ। घरपझोङ गाउँपालिका–४ जोमसोमदेखि माथिको सडक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतले जानकारी दिए।
भारी हिमपात र वर्षाका कारण मुस्ताङ भ्रमणमा रहेका पर्यटक, सर्वसाधारण तथा कोरला नाकामा मालसामान ढुवानीका लागि पुगेका कन्टेनर चालकलाई सुरक्षा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।
कात्तिक १४, २०८३ शनिबार १०:२०:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।