कमेडी स्टेजबाट मोनोटोनस भएपछि 'म्याकुरी'ले छोडे 'कमेडी दरबार'!
काठमाडौं : स्ट्यान्डअप कमेडीका रूपमा चर्चामा आएका पवन खतिवडा (म्याकुरी)ले टेलिभिजन शो कमेडी दरबार छाडेको घोषणा गरेका छन्। उनले कमेडी दरबारको सिजन ३ सम्म आफू रहेता पनि अबको सिजनमा नरहने जानकारी दिएका छन्।
उनले कमेडी दरबारमा आफू नरहेता पनि आफ्नै कमेडी शो ज्वाइँसाब २ निर्माण गर्ने उल्लेख गरेका छन्। ‘सायदै अब कमेडी दरबारको अर्को सिजनमा मलाई देख्न पाउनुहुँदैन होला,’ उनले भनेका छन्, ‘केही वर्ष मैले स्टेजमा नदेखिने निर्णय लिएको छु।’
शोबाट बाहिरिने निर्णय किन गरेका हुन् भन्ने बारेमा उनले केही खुलाएका छैनन्। तर कमेडी दरबारको यस सिजनसम्म साथ दिएको सबैलाई धन्यवाद दिए। उनले अगाडि भनेका छन्, ‘कमेडी दरबारको यो सिजनसम्म साथ दिनुहुने सबैलाई धन्यवाद। म्याकुरिलाई यति माया दिनुभयो त्यसको लागि धन्यवाद।’
उकेरासँगको कुराकानीमा भने उनले केही समय विश्राम लिँदा उपयुक्त हुने भन्ने लागेर यस्तो निर्णय लिएको बताए। उनले भने,‘मैले अबको एक वर्ष यो शोमा नदेखिने भन्ने निर्णयमा पुगेको छु। किनभने एउटै कुराले म आफैलाई पनि मोनोटोनस बनायो। एक वर्षको ग्यापपछि आउँदा राम्रो होला भन्ने विचारका साथ मैले छाडेको हो।’
खतिवडाको अनुसार कमेडी दरबारको सिजन ४ मा उनी देखिँदैनन्। एक दशकअघि गीत गाउनका लागि धनकुटाबाट काठमाडौं आएका कमेडिन खतिवडा ‘पीके भाइन्स’ नामक युट्युबमा म्याकुरी थेँगोका कारण चर्चामा आएका थिए।
उनले ‘म्याकुरी’ : युट्युबमा ‘पीके भाइन्स’ र ‘म्याकुरी’ चरित्रमार्फत उनी दर्शकमाझ चर्चामा रहे। सोही कारण उनी रियालिटी शो कमेडी दरबारको पहिलो एपिसोडबाट नै उनी काम गर्दै आएका छन्। उनको जोडीका रूपमा पवित्रा शाकी (मिस पवी)रहेकी थिइन्।
कमेडी दरबारलाई विक्की अग्रवाल, श्रद्धा प्रसाईले निर्माण गरेका हुन्। यो सिजन ३२६ भागबाट समाप्त भएको शोका निर्देशक विक्की अग्रवालले जानकारी दिएका छन्।
उनले कमेडी दरबार सिजन ३ को भव्य बिदाइ गरिएको जानकारी दिँदै अहिलेसम्म अपार माया, साथ र सहयोगका लागि सबैलाई हृदयदेखि नै धन्यवाद भन्दै प्रोमो हालेका छन्। २६ शो पनि यो सिजनको शो सकिएको हो। अब यो टिमले आफैले निर्माण गरेको फिल्म ‘ककाकिकी’को प्रदर्शन तथा प्रमोसनमा लाग्ने तयारीमा छ। किनभने यो फिल्म आगामी मंसिर ११ गतेबाट हलमा लाग्दैछ।
हरेक शुक्रबार राति ९ बजे प्राइभ टेलिभिजनबाट प्रसारण हुँदै आएको यो शो अन्तिम गेष्टका रूपमा लोकगायक अर्जुन सापकोटा, रमेशराज भट्टराई, प्रताप दास र एलिना चौहान रहेका छन्। जुन प्रोमोमा देखिन्छ।
कात्तिक १२, २०८३ बिहीबार १८:०६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।