ज्ञानेन्द्र मल्लको त्यो मास्टरस्ट्रोक- ‘सोम, तिमी जाऊ!’
काठमाडौं : यदि कर्णाली याक्सको ब्याटिङ रणनीति कप्तान सोमपाल कामीको सोचअनुसार अघि बढेको भए, दबाबमा परेको टोलीलाई उकास्न उनी आफैँभन्दा अगाडि क्रिजमा गुल्सन झालाई पठाउने थिए।
तर, डगआउटबाट मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले एउटा साहसिक निर्णय लिए- ‘सोम, तिमी जाऊ!’
प्रशिक्षक मल्लको त्यही एउटा ‘मास्टरस्ट्रोक’ले त्रिवि क्रिकेट मैदानमा खेलको पासा मात्र पल्टाएन, विराटनगर किङ्सविरुद्ध सोमपाललाई नायक र कर्णालीलाई जारी एनपीएलको सबैभन्दा रोमाञ्चक जितको हकदारसमेत बनायो।
पहिले बलिङतर्फ ४ विकेट (४/३३) लिएर विराटनगरलाई रोक्न मुख्य भूमिका खेलेका सोमपाललाई मल्लले ब्याटिङमा माथिल्लो क्रममा पठाउने जुवा खेलेका थिए।
प्रशिक्षकको त्यो विश्वासलाई सोमपालले खेर जान दिएनन्; मैदान छिरेर २०० भन्दा माथिको स्ट्राइक रेटमा विस्फोटक अर्धशतक प्रहार गर्दै खेल विपक्षीको पकडबाट खोसेर ल्याए।
खेलपछिको पत्रकार सम्मेलनमा कप्तान सोमपालले जितको सम्पूर्ण रणनीतिक श्रेय प्रशिक्षक मल्ललाई दिँदै भने, “म कप्तान भएकाले आफ्नो निर्णय चल्ने भए गुल्सनलाई मभन्दा अघि पठाउँथेँ होला। तर, ज्ञान दाइले ‘सोम, तिमी जाऊ’ भन्नुभयो। दाइले हामीलाई सानैदेखि हेर्नुभएको छ। कुन खेलाडीलाई कुन क्षणमा पठाउँदा उत्कृष्ट नतिजा आउँछ भन्ने उहाँलाई राम्रोसँग थाहा छ।”
प्रशिक्षक मल्लको निर्णय सही साबित गर्दै सोमपालले गुल्सन झासँग मिलेर अविश्वसनीय साझेदारी गरे। विगत ४–५ वर्षदेखि एउटै कोठाका ‘रुममेट’ रहेका यी दुई खेलाडीबीचको तालमेलले विराटनगरका बलरहरूलाई स्तब्ध बनाएको थियो।
व्यक्तिगत रूपमा ४ विकेट र म्याच-विनिङ अर्धशतक बनाएर ‘प्लेयर अफ द म्याच’ चुनिए पनि सोमपालले टोलीको जितलाई नै सर्वोपरि माने।
“टिमले नजितेको भए न मेरा यी ४ विकेटको कुनै भ्यालु हुन्थ्यो, न त ५० रनको नै,” सोमपालले भने, “आज मेरो मात्र होइन, सिंगो कर्णालीको दिन थियो र ज्ञान दाइको त्यो निर्णय खेलको टर्निङ पोइन्ट बन्यो।”
कात्तिक १२, २०८३ बिहीबार २२:५३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।