इनमको ह्वाट्सएप लहरोले प्रधानन्यायाधीश शर्मादेखि आइजिपी कार्कीसम्म संकटमा, कसले चुहाइरहेछ प्रहरीको फरेन्सिक रिपोर्ट!

काठमाडौँ : पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, इनम सापकोटा अनि सशस्त्रका एआइजी वंशीराज दाहाल। यी तीन जना एक्सपोजहुँदा नै इनमको मोबाइलमा नेपालका थप शक्तिशालीहरूको विवरण रहेको सार्वजनिक भइसकेको थियो।

त्यसले एक प्रश्न उब्जाएको थियो। वंशीराजमाथिको कारबाहीपछि अब को?

यो बिचमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथिको निर्वाचन प्रहरीको लत्ता कपडामा भ्रष्टाचार गरेको आरोप चर्कियो। इनम छायामा परे। त्यही बिचमा उजुरीसहित प्रहरीमा तीन वर्ष अगाडि पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनुवारको व्यक्तिगत अडियो बाहिरियो। इनम प्रकरण झन् छायामा पर्यो।

तर दशैँको माहोल सुरु भइसकेको अवस्थामा दियोपोस्टबाट उनै इनमको प्रहरी महानिरीक्षक दानबहादुर कार्की र अर्का एआइजी राजन अधिकारीसँगको सम्बन्ध र सम्पर्कबारे ह्वाट्सएपको सन्देश सार्वजनिक भयो। दसैँ झ्याप्पै लाग्यो। यो प्रशंग ओझेलमा पर्यो। यसमा सरकारमा रहेका मन्त्री विराजभक्त श्रेष्ठ र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगै इनम रहेको तस्बिर त दसैँ अगाडि नै सार्वजनिक भएको थियो। यो पनि सामाजिक सञ्जालमा आयो अनि हरायो।

तर लहरो तान्ने क्रम रोकिएको थिएन। दशैँ सकिए लगत्तै एकाएक उस्तै ह्वाट्सएपका स्क्रिनसटहरु सार्वजनिक हुन थाले। ती स्क्रिनसटहरुले सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सर्वोच्चका न्यायाधीश हरि फुयाँल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक कार्की, एआइजी राजन अधिकारी र रास्वपाका सांसद तथा नेपाल प्रहरीका पूर्व एआइजी विश्वराज पोखरेल पनि इनमको सञ्जालमा जोडिए।

सार्वजनिक भएका प्रमाणहरूमा इनम सापकोटाले प्रधानमन्त्री वालेन्द्र शाहकै नाम लिएर सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा न्यायाधीशलाई खारेज गराउन दबाब दिएकोसम्म देखियो। 

२०८३ भदौ १० मा चोलेन्द्र समातिए। उनीबाट इनमको नाम खुल्यो। इनम समातिए। उनीबाट सशस्त्रका एआइजी वंशीराज दाहालको नाम खुल्यो। सुरक्षा सम्बन्धी गोप्य सूचना चुहाएको आरोपमा सरकारले छानबिन समिति बनायो अनि समितिको सिफारिसमा सरकारले कार्वाही गरेर उनलाई सेवाबाट हटायो।

त्यसपछि जोडिए निर्वाचन प्रहरीको पोसाक खरिद भ्रष्टाचारमा संसदीय समितिको छानबिनको दायरामा रहेका प्रहरी महानिरीक्षक कार्की। कार्की र इनम सापकोटाबीचको सम्बन्ध पनि उही ह्वाट्सएपले नै खुलाएको थियो।

इनमसँग कार्कीको गहिरो सम्बन्ध रहेको सार्वजनिक भएसँगै सरकार एक्सनमा उत्रिने तयारीमा लाग्यो। प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयबाट कार्कीलाई राजीनामा दिन निर्देशन गयो। तर उनी राजीनामा दिने भन्दा पनि ‘यदि आफूलाई हटाए संगठनमा विद्रोह हुन्छ’ भन्ने सन्देश निर्माणमा केन्द्रित भए।

कार्कीले सङ्गठनभित्रै साथ र समर्थन खोज्दै डिआइजीहरूसहितको प्रहरीको नीति बनाउन र कहिलेकाहीँ गम्भीर विषयमा छलफल गर्न राखिने पोलिसी को-अर्डिनेशन कमिटीको बैठक बिहीबार दिउस राखे। कार्कीले यो बैठक राख्नु अगाडि नै बुधवार प्रधानमन्त्री वालेन्द्र शाहले पार्टी सभापति रवि लामिछानेसँग भेटेर कार्कीको शंकास्पद गतिविधिबारे जानकारी गराउँदै उनलाई हटाउने जानकारी गराएको सार्वजनिक भएका छन्। 

जानकार स्रोतका अनुसार निर्वाचन प्रहरीको बन्दोबस्तीको सामग्रीको ठेक्कामा भएको बदमासीबारे सबैभन्दा पहिला प्रधानमन्त्री सचिवालयमै जानकारी पुगेको थियो। त्यसपछि यो विषय संसदीय समितिमा पुग्यो। सार्वजनिक भएको इनमको ह्वाट्सएप सन्देशमा एआइजी विश्वराज अधिकारीसमेत जोडिएका छन्। आइजिपी कार्कीबारे एकपछि अर्को गम्भीर सूचना आइरहेपछि प्रधानमन्त्री शाह उनलाई कार्वाही गर्ने पक्षमा पुगेको देखिन्छ।

स्रोतले शाह र लामिछानेबीचको भेटमा कार्कीको विकल्पमा राजन अधिकारी वा डा मनोज केसी कसलाई प्रहरी प्रमुख बनाउने भन्ने तहसम्मको छलफल भएको दाबी गरे पनि यसको स्वतन्त्र पुष्टी भने हुन सकेन।

प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछानेको भेट अनि आफूलाई सरकारले हटाउने तयारीबारे सार्वजनिक भएका सूचनापछि बिहीबार पिसिसीको बैठक राखेर आफ्नोबारे सार्वजनिक भएका विषयबारे छलफल भएको थियो। छलफलमा कार्कीले संगठन भित्रकै सदस्यहरू ब्यक्तीगत स्वार्थमा काम गरिरहेको गुनासो गरेका थिए।

यस विषयमा समूहगत रुपमै प्रधानमन्त्रीसँग भेट्ने वा संगठनको धारणा सार्वजनिक गर्ने भन्नेबारे छलफलपछि अन्तमा प्रहरी प्रवक्ता मार्फत विज्ञप्ति जारी गरियो। विज्ञप्तीमा प्रहरी महानिरिक्षकबारेको विषयलाई सरकार विरुद्ध खेलेको राजनीतिक अर्थ लगाइएको छ। विज्ञप्तीमा आइजिपीबारे प्रकाशित समाचारहरू भ्रमपूर्ण रहेको दाबी गरे पनि इनमसँग ह्वाट्सएपमा देखिएको सम्बन्धबारे भने केही उल्लेख छैन।

विज्ञप्तीमा 'नियोजित रुपमा भ्रामक सूचना सम्प्रेशण गरेर संगठनलाई कमजोर बनाएर सरकार विरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका केही सिमित ब्यक्तीहरुको चालवाजीलाई नेपाल प्रहरीले कानुन बमोजिम अनुसन्धान र कार्वाही प्रक्रिया अगाडि बढाउने' चेतावनी दिएको छ।

योक्रम प्रहरी महानिरीक्षक कार्कीमा पुगेर मात्र रोकिएन। इनमसँग जोडिएर न्यायालयदेखि लिएर सत्तारुढ रास्वपाकै सांसदहरूसम्म एक्सपोज भए।

प्रधानन्यायधीश शर्मादेखि रास्वपा सांसदसम्मको नाम उल्लेख रहेको इनम सापकोटाको मेसेज।बिहीबार 'नयाँ पत्रिका' दैनिकले ह्वाट्सएप म्यासेजका आधारमा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल र इनम सापकोटाबीच सर्वोच्चमा विचाराधीन मुद्दाबारे भएको संवाद बाहिर ल्यायो। संवादको विषय दीपक भट्टको समूहका सदस्यको धरौटीको विषय थियो।

त्यसमा दीपक भट्ट समूहकै रोहित गुप्ता र अर्का व्यवसायी शेखर गोल्छाबारे संवाद भएको देखिन्छ। इनमले इजलास अगाडि नै गुप्ताको मुद्दा खारेज गर्न भन्दै यसमा प्रधानमन्त्रीको चासो रहेको सन्देश न्यायाधीश फुयाँललाई पठाएको देखिन्छ। तर फुयाँलले ढिला म्यासेज हेरेको भन्दै दुवैको नाममा धरौटी निस्किएको जानकारी दिएर हिमालयन होटलमा भेट्न भनेको देखिन्छ।

न्यायाधीशको संहिता हेर्ने हो भने फुयाल र इनमबीचको संवाद सामान्य देखिन्न। तर समाचारमा फुयाल र इनमबीचको संवाद उल्लेख भए पनि उही मेसेजमा इनमले प्रधानमन्त्रीको नाम लिएर मुद्दा खारेज गर्न भनेको प्रशंग भने उल्लेख थिएन।सामाजिक सञ्जालमा न्यायाधीश फुयाँलसँगको पूर्ण संवाद जसमा प्रधानमन्त्रीको समेत चासो रहेको उल्लेख थियो, त्यो पनि बाहिरियो।

पछि न्यायाधीश फुँयालले केही पत्रकारहरुसँग भेटेर इनमसँगको सम्बन्धबारे खुलाए। उनले आफूसहितमाथि महाअभियोग लगाउने चर्चाकाबीच परिचितबाट प्रधानमन्त्री शाह निकट ब्यक्तीको रुपमा उनी सम्पर्कमा आएपछि आफूसहित केही न्यायाधीशले भेटेको स्विकार गरे पनि उनीसँग कुनै आर्थिक लेनदेन नभएको र उनले भने अनुसारको आदेश पनि नगरेको दाबी गरे। 

योसँगै बिहीबार अर्को विवरण बाहिरियो जसमा आर्थिक लेनदेनको विवरण थियो। त्यसमा नाम थियो वर्तमान प्रधानन्यायाधीश शर्मा अनि नेपाल प्रहरीको पूर्व एआइजीबाट अवकाश पाएर अहिले रास्वपाका सांसद भएका विश्वराज पोखरेलको।

त्यसमा १ लाख ९८ हजार अमेरिकी डलर अमेरिकाको बैंक खातामा राख्न इनमले कसैलाई मेसेज पठाएका थिए। त्यसमा प्रस्ट रूपमा मनोजकुमार शर्मा चिफ जस्टिस् र विश्वराज पोखरेल ओखलढुङ्गा र वंशीराज दाहाल उल्लेख छ। दाहाल एआइजी भए पनि सन्देशमा सशस्त्रको आइजी भनेर लेखिएको छ।

प्रधानन्यायाधीश शर्माले सार्वजनिक भएका मेसेजमा उल्लेख भएका मितिमा आफू प्रधानन्यायाधीश नभइसकेको तर्कसँगै इनमसँगको सम्पर्क र सम्बन्ध अस्वीकार गरे। विश्वराज पोखरेलले पनि उही शैलीमा विज्ञप्ति निकालेर इनमसँगको सम्बन्ध अस्वीकार गरेका छन्।

OOO

प्रधानन्यायाधीश शर्मादेखि आइजिपी कार्कीसम्म इनमसँग जोडिएका जति पनि प्रमाण सार्वजनिक भएका छन् ती प्रमाण प्रहरीले अनुसन्धानकोक्रममा संकलन गरेको प्रमाणहरू रहेको प्रस्ट देखिन्छ। त्यसमा प्रस्ट नेपाल सरकार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग (डिजिटल फरेन्सिक ल्याब) को छाप छ।

अर्थात् ती प्रमाण प्रहरी प्रधान कार्यालयमा रहेको अपराध अनुसन्धान विभाग अन्तर्गतको फरेन्सिक ल्याबको अनुसन्धान रिपोर्ट हो भन्ने प्रस्ट देखिन्छ। अब चोलेन्द्र र इनम पक्राउ घटनाबाट अहिलेसम्मको प्रहरी अनुसन्धान हेरौँ।

यो घटनाक्रममा सबैभन्दा पहिला २०८३ भदौ १० मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चोलेन्द्रलाई नियन्त्रणमा लिएर उनको मोबाइलको फरेन्सिक परीक्षण गरेको थियो। उनी नियन्त्रणमुक्त भएको चौथो दिन प्रहरीको विशेष ब्युरोले इनमलाई पक्राउ गरेको थियो। पहिला अभद्रमा हिरासतमा राखेर उनको मोबाइल फरेन्सिकमा परीक्षणमा पठायो।

इनमको मोबाइलको फरेन्सिक परीक्षणमा सशस्त्रका एआइजी वंशीराजको सन्देश भेटियो। उनी निलम्बनमा परे अनि छानबिन समिति बन्यो। समितिले दोषी ठहर गर्यो र उनी जागिरबाट हटाइए।

इनम र सर्वोच्चका न्यायधीश फुयालबीच ह्वाट्सएपमा भएको संवाद।अहिले जे जति प्रमाणहरू सार्वजनिक भएका छन् ती सबै प्रहरीकै फरेन्सिक विभागको प्रतिवेदन हो भन्ने देखिन्छ। यो अपराध अनुसन्धान विभाग अन्तर्गत छ। अहिले विभागको प्रमुखमा छन् डा मनोज केसी। मनोज केसी प्रहरी महानिरीक्षकका दाबेदारमध्येका हुन्। 

तर तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई आइजिपीमा केसीको नियुक्तिका लागि वर्तमान गृहमन्त्री सुधन गुरुङ लगायतबाट दबाब पुगेको थियो। तर अन्तिममा उनले बरियताक्रम मिच्न चाहिनन्। मन्त्रिपरिषद्मा उनले सबैलाई सरप्राइजदिँदै आइजिपीमा कार्कीको नाम प्रस्ताव गरिन् र निर्णय पनि भयो।

स्रोतका अनुसार कार्कीबारे संवेदनशील र गम्भीर सूचना नपुगे पनि उनको परिवारको सदस्यबारे भने सुशीला कार्कीकोमा पनि गम्भीर सूचना पुगेका थिए। उनले प्रहरी महानिरीक्षकमा नियुक्त गरेपछि कार्कीलाई यसबारे बताएकी पनि थिइन्।

त्यो बेलामा डा मनोज केसी सिआइबी प्रमुख थिए। निर्वाचनपछि वालेन्द्र शाह प्रधानमन्त्री भएपछि सरकारको इच्छा अनुसारको गम्भीर विषयमा सिआइबीले अनुसन्धान गरेको थियो। नियमित सरुवाकोक्रममा डा केसी अपराध अनुसन्धान विभाग पुगे। गम्भीर अपराध अनुसन्धानको जिम्मेवारी रहेको सिआइबीको नेतृत्वमा उमाप्रसाद चतुर्वेदी पुगे।

अहिले इनमको प्रमाणको बन्डल हुने स्थान कि अपराध अनुसन्धान विभाग नै हो या उनीबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंमा।

कात्तिक १२, २०८३ बिहीबार २२:१२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।