जित्ने खेल कसरी हार्ने भनेर नयाँ-नयाँ उपाय खोज्दैछौँ : एन्जेलो म्याथ्युज
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससँग अप्रत्याशित हार ब्यहोरेपछि विराटनगर किङ्सका अनुभवी श्रीलङ्काली अलराउन्डर एन्जेलो म्याथ्युज निराश सुनिए।
जित नजिक पुगेर पनि लगातार दोस्रो खेल गुमाएपछि म्याथ्युजले आफ्नो टोली ‘जित्ने खेल कसरी हार्ने भन्ने नयाँ-नयाँ उपाय खोज्नमा लागेको’ भन्दै असन्तुष्टि पोखे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा १८६ रनको बलियो योगफल जोगाउन नसक्दा विराटनगर अन्तिम ओभरमा पराजित भएको थियो।
एक समय कर्णालीलाई ५७ रनमै ५ विकेटको दयनीय अवस्थामा पुर्याए पनि विराटनगरले खेल आफ्नो पक्षमा पार्न सकेन।
खेलपछिको पत्रकार सम्मेलनमा म्याथ्युजले भने, “हाम्रो हातमा खेल आइसकेको थियो। हारको मुखबाट कर्णालीले जित खोसेर लग्यो। हामीले यो खेल कसरी हार्यौँ, मलाई अझै थाहा छैन। दुवै खेलमा हामी जित्ने स्थितिमा थियौँ, तर हामीले जित्ने पोजिसनबाट पनि खेल कसरी गुमाउने भनेर उपाय खोजिरहेका छौँ, जुन टोलीका लागि राम्रो होइन।”
विराटनगर पहिलो खेल चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो। हातमा छ विकेट बाँकी रहेको र २५ बलमा २६ रन चाहिने अवस्थाबाट विराटनगर तीन बल बाँकी छँदै अलङआउट हुन पुगेको थियो।
सोमपालको क्याच छाड्नु नै हारको मुख्य कारण
म्याथ्युजले क्रिकेटमा ‘क्याचेस विन म्यासेज’ भन्ने पुरानो भनाइ दोहोर्याउँदै कमजोर फिल्डिङ नै पराजयको मुख्य कारण रहेको स्वीकार गरे।
कर्णालीका कप्तान सोमपाल कामीले खेल जिताउने विस्फोटक इनिङ्स खेल्ने क्रममा विराटनगरले उनका दुई महत्त्वपूर्ण क्याच छाडेको थियो।
म्याथ्युजले भने, “हामीले खेलमा करिब तीनवटा क्याच छाड्यौँ, त्यसमाथि उनीहरूका कप्तान (सोमपाल) को दुईवटा महत्त्वपूर्ण क्याच ड्रप भयो। उनीजस्तो उत्कृष्ट खेलाडीलाई जीवनदान दियो भने त्यसको मूल्य चुकाउनुपर्छ, आज त्यस्तै भयो।”
उनले चिसो मौसम, ड्यू फ्याक्टर र भिजेको बलका कारण बलरहरूलाई ग्रिप गर्न निकै कठिन भए तापनि फिल्डिङको कमजोरीलाई मौसमको बहाना बनाएर पन्छिन नसकिने स्पष्ट पारे।
लोकेशको प्रशंसा र ‘नेपाली क्रिकेट सुरक्षित हातमा’
टोली पराजित भए पनि म्याथ्युजले विराटनगरका युवा ब्याटर लोकेश बमको विस्फोटक ब्याटिङको खुलेर प्रशंसा गरे।
उनले भने, “लोकेशले अविश्वसनीय इनिङ्स खेले। उनले मैदानमा केही उत्कृष्ट सटहरू प्रहार गरे, उनी नेपालका लागि भविष्यका उत्कृष्ट प्रतिभा हुन्।”
त्यस्तै, ५ विकेट खसिसकेपछि पनि दबाब नलिई खेललाई अन्तिमसम्म तानेर जित निकालेकोमा सोमपाल कामी र गुल्सन झाको जोडीलाई उनले बधाई दिए।
म्याथ्युजले थपे, “नेपालका स्थानीय खेलाडीहरूको स्तर साँच्चिकै उच्च छ। उनीहरूले जसरी दबाब झेलेर खेल जिताए, त्यसले प्रष्ट पार्छ- नेपाली क्रिकेट सुरक्षित हातमा छ।”
पहिलो पटक नेपाल आएका श्रीलङ्काका पूर्वकप्तान म्याथ्युजले कीर्तिपुर मैदानको माहोल र नेपाली समर्थकहरूको क्रिकेटप्रतिको क्रेज विश्वस्तरीय रहेको भन्दै प्रशंसासमेत गरे।
कात्तिक १२, २०८३ बिहीबार २३:१८:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।