पहिरोले बिपी र कर्णाली राजमार्गसहितका सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन रोक
काठमाडौं : लगातारको वर्षासँगै आएको पहिरोका कारण काभ्रेपलाञ्चोक, गोरखा र सुर्खेतका विभिन्न सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न पाँच स्थानमा सडक सम्पर्क टुटेको छ भने सम्भावित दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै कान्तिलोकपथमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ स्थित पिन्थली र वडा नं ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार सो क्षेत्रमा वर्षा नरोकिएकाले तत्काल पहिरो पन्छाएर सडक खुलाउन समस्या भइरहेको छ। प्रहरीले राजमार्गको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा तय गर्न यात्रुहरूलाई आग्रह गरेको छ।
यता गोरखाको आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल असोजमा आएको बुढीगण्डकी नदीको बाढीले बगाएको छ। पुल बगेपछि दुई वडाबीचको सीधा सडक सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी सुर्खेतको बराहताल गाउँपालिका-७ औलिसेमा सुक्खा पहिरो खस्दा कर्णाली राजमार्गसमेत पूर्ण रूपमा बन्द भएको छ।
यसैबीच, सम्भावित बाढीपहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ।
मौसम प्रतिकूल रहेकाले अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी रहे पनि आवश्यक सावधानी अपनाएर मात्रै यात्रा गर्न प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।
कात्तिक १४, २०८३ शनिबार ०८:११:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।