पत्रकार धरपकड प्रकरणपछि आज रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं : समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पार्टीको सचिवालय बैठक बोलाएको छ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठक बिहान ११:०० बजे केन्द्रीय कार्यालय (घन्टीघर, वनस्थली) मा तय गरिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
बैठकमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था र विकसित घटनाक्रमबारे समीक्षा हुने बताइएको छ।
शुक्रबार दिउँसो सादा पोसाकका प्रहरीले समाचार कक्षमै प्रवेश गरी नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदीलगायतलाई नियन्त्रणमा लिएको थियो भने नयाँ पत्रिका दैनिकको कार्यालयमा समेत पुगेर धरपकडको प्रयास गरेको थियो।
चौतर्फी विरोध र आलोचनापछि पक्राउ परेका पत्रकारहरू शुक्रबार राति नै रिहा भए पनि राज्यको यस कदमप्रति नागरिक समाज, मिडिया जगत र राजनीतिक वृत्तमा चर्को असन्तुष्टि देखिएको छ।
घटनालगत्तै रास्वपा प्रवक्ता खरेलले विज्ञप्ति जारी गर्दै समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु संविधान, प्रेस स्वतन्त्रता र पार्टीको नीति तथा सिद्धान्तविपरीत भएको स्पष्ट पारेका थिए।
उनले समाचार कक्षमै प्रहरी प्रवेश गरेर धरपकड गर्ने शैलीप्रति आपत्ति जनाउँदै यस विषयमा पार्टीले गम्भीर चासो राखेको बताएका थिए।
कात्तिक १४, २०८३ शनिबार ०८:०३:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।