बंगलादेशी खेलाडी बारेको प्रश्नमा सन्दीप- म मालिक भएको भए जवाफ दिन्थेँ

बंगलादेशी खेलाडी बारेको प्रश्नमा सन्दीप-  म मालिक भएको भए जवाफ दिन्थेँ

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो हारपछि आयोजित पत्रकार सम्मेलनमा विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले एक बङ्गलादेशी खेलाडीसँग जोडिएको विवादित विषयमा कडा टिप्पणी गरेका छन्।

विराटनगर किङ्सले अनुबन्धको कुरा गरेर पछि सम्पर्कविहीन भएको भन्दै बङ्गलादेशी क्रिकेटर जिशान आलमले लगाएको आरोपबारे सोधिएको प्रश्नमा सन्दीपले व्यवस्थापकीय विषय आफूसँग सम्बन्धित नरहेको प्रष्ट पार्दै भने- ‘म टिमको मालिक भएको भए यसको जवाफ दिन्थेँ होला।’

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार साँझ कर्णाली याक्ससँग पराजित भएपछि आयोजित पोस्ट-म्याच पत्रकार सम्मेलनमा बंगलादेशी पत्रकारले सन्दीपलाई सोधेका थिए, ‘तपाईंको टिम विराटनगर किङ्सले बङ्गलादेशी खेलाडी जिशान आलमसँग सम्झौता/सम्पर्क गरेको थियो। अहिले टिमले उनका फोन र म्यासेजको कुनै रेस्पोन्स नगरेको गुनासो उनले गरिरहेका छन्, यसमा के भएको हो?’

पत्रकारको प्रश्न भुइँमा खस्न नपाउँदै कप्तान सन्दीपले जवाफ फर्काए, ‘यदि म टिमको मालिक हुन्थेँ भने तपाईंलाई यसको जवाफ दिन सक्थेँ होला।’

पत्रकारले पुनः दोहोर्याएर सोधेपछि सन्दीपले थपे, ‘मलाई कसरी थाहा हुन्छ र?’

विराटनगर किङ्सले यसअघि बङ्गलादेशी युवा ब्याटर जिशान आलमलाई टोलीमा अनुबन्ध गर्ने प्रक्रिया अघि बढाए पनि पछि कुनै जानकारी नदिई अलपत्र पारेको र सम्पर्क गर्न खोज्दा फोन-म्यासेजको बेवास्ता गरेको दाबी सार्वजनिक भएको थियो।

मैदानमा १८७ रनको बलियो योगफल खडा गरे पनि कमजोर फिल्डिङ र क्याच ड्रपका कारण कर्णाली याक्ससँग पराजित भएपछि कप्तान सन्दीप दबाबमा देखिएका थिए।

खेलपछिको छलफलमा टिमको प्रदर्शन र रणनीतिबारे लामो व्याख्या गरेका सन्दीपले खेलबाहिरको प्रशासनिक विवादमा भने एकै वाक्यमा जवाफ दिँदै आफूलाई अलग राखेका हुन्।

कात्तिक १२, २०८३ बिहीबार २२:१९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।