दीपक घेराबन्दीमा पर्दा माग्नेको कटाक्ष !
काठमाडौं : नेपाली फिल्म नगरीमा एउटा पुरानो आहान खुब चल्छ- ‘पर्दा पछाडिको सम्बन्ध जतिसुकै फेरिए पनि बक्स अफिसको हिसाबकिताबले सबैको पोल खोल्छ।’
सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल (मुन्द्रे) हुँदै पछिल्लो समय उनका सबैभन्दा भरपर्दा सहयात्री केदार घिमिरे (माग्नेबुढा)ले समेत समूह छाडेपछि अभिनेता तथा निर्माता दीपकराज गिरीले एक्लै आँट गरेर ‘छ माया छपक्कै २’ दर्शकमाझ ल्याए।
तर, गत असोज ३१ गतेबाट प्रदर्शनमा आएको यो फिल्मलाई लिएर यतिबेला सामाजिक सञ्जालमा विभिन्न राजनीतिक र वैचारिक बहानामा ‘बहिष्कार’को अभियान छेडिएको छ।
दीपक जब-जब नयाँ फिल्म लिएर पर्दामा आउँछन्, कुनै न कुनै विवाद उनको पछि लाग्ने नै गर्छ।
एकातिर, अघिल्लो वर्ष भदौ २३/२४ गतेको आन्दोलनलाई असहयोग गरेको आरोप लगाउँदै केही समूहले उनलाई ‘खरानी ग्याङ’ को ट्याग भिराएर फिल्म बहिष्कारको आह्वान गरिरहेका छन्।
अर्कातिर, जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका अध्यक्षमाथि भएको लखेटाइको घटनामा दीपकले “उनलाई भौतिक रूपमा होइन, वैचारिक रूपमा लखेट्नुपर्छ” भनी दिएको अभिव्यक्तिलाई लिएर माटो समर्थकहरू आक्रोशित छन्।
यही अभिव्यक्तिलाई निहुँ बनाएर उनीहरूले सामाजिक सञ्जालमा फिल्म नहेर्न प्रचार गरिरहेका छन्।
तर, यसरी घेराबन्दी र बहिष्कारको तीर वर्षिरहेका बेला दीपकलाई लक्षित गर्दै उनकै मित्र माग्नेबुढाले लेखेको एउटा स्टाटसको भने फिल्मी वृत्तमा चर्चा छ।
के थियो माग्नेबुढाको त्यो पोस्ट ?
‘छ माया छपक्कै २’ हलमा चलिरहेकै र दीपकमाथि आक्रमण भइरहेकै मौका पारेर केदार घिमिरेले अचानक आफ्नो एकल अभिनय रहेको फिल्म ‘माग्नेराजा’को बक्स अफिस कलेक्सन सार्वजनिक गरे।
दीपकलक्षित मानिएको उक्त पोस्टमा केदार लेख्छन्, “चलचित्र ‘माग्नेराजा’को ग्रस कलेक्सन ४ करोड ७६ लाख + युट्युब राइट्स + विदेश राइट्स गरी करिब यसकै आसपास थियो। भाद्र ६ गते रिलिज भएको र भाद्र २३/२४ आन्दोलन भई सबै हल डिस्टर्ब भएको थियो (जम्मा १६ दिन मात्रै चल्न पाएको थियो) भनी सबैमा जानकारी गराएँ। जय दर्शक।”
यद्यपि, रेकर्ड अनुसार ‘माग्नेराजा’ १७ दिन चलेको थियो। खैर, दिन १६ होस् कि १७, फिल्मी वृत्तमा मुख्य चासोको विषय दिन होइन, यसको ‘टाइमिङ’ बनेको छ।
फिल्म रिलिज भएर हलबाट उत्रिएको यतिका समयपछि, ठ्याक्कै दीपकको फिल्म हलमा भिडिरहेका बेला माग्नेबुढालाई यो तथ्याङ्क सार्वजनिक गर्ने रहर किन जाग्यो होला?
फिल्मी बजारमा यसलाई दुई किसिमले हेरिएको छ। एकाथरीको बुझाइ छ- केदारले दीपकसँगको सहकार्य टुट्दा मनको तुसलाई बक्स अफिसको तथ्याङ्कमार्फत पोखेका हुन्।
उनी मौन रूपमा भन्न खोज्दै छन्, “म नहुँदा तिम्रो फिल्मलाई कत्तिको हम्मेहम्मे पर्छ, देख्यौ? दर्शक त मलाई हेर्न पो आउँदा रहेछन्!”
तर, नेपाली सिनेमाको इतिहास साक्षी छ- सफलता कुनै एक व्यक्तिको मात्र पेवा कहिल्यै हुँदैन।
माग्नेबुढा आफैँले एकल हिरोका रूपमा अभिनय गरेको विगतको फिल्म ‘रामकहानी’ले बक्स अफिसमा अपेक्षा अनुसारको जादु चलाउन नसकेको तितो यथार्थ पनि ताजै छ।
के दीपकको फिल्म कमजोर नै भएको हो त?
माग्नेबुढाको स्टाटसपछि कतिपयले ‘छ माया छपक्कै २’ बक्स अफिसमा नराम्ररी पछारिएको अड्कलबाजी गर्न थालेका छन्। तर, यथार्थ तथ्याङ्क भने त्यस्तो निराशाजनक छैन।
नकारात्मक प्रचार र बहिष्कार अभियानका बाबजुद ‘छ माया छपक्कै २’ ले सुरुआती ९ दिनमै २ करोड ७६ लाख ३९ हजार रुपैयाँको बलियो ग्रस कलेक्सन गरिसकेको छ।
फिल्मले अहिले पनि देशभरका हलहरूमा राम्रै शो पाएको छ र दर्शक तानिरहेकै छ। आगामी सोमबार मात्रै यसको १६ दिनको वास्तविक हिसाब आउनेछ, जसले मात्र ‘माग्नेराजा’सँगको तुलनालाई अर्थपूर्ण बनाउनेछ।
हिजो एउटै प्लेटमा खाएर ‘तीतो सत्य’देखि ‘छक्का पञ्जा’सम्म नेपाली दर्शकलाई हँसाउँदै आएका दीपक र माग्नेबुढाबीचको यो ‘मौन जुहारी’ले मिडियालाई गसिपको खुराक त दिएको छ, तर दर्शकका लागि भने यो दृश्य अलि खल्लो नै लाग्छ।
पुराना सहकर्मी अफ्ठ्यारोमा पर्दा काँध नथापे पनि कम्तीमा व्यङ्ग्यको झटारो नहानिदिए हुन्थ्यो भन्ने चाहना उनीहरूका साझा फ्यानहरूको छ।
कात्तिक १३, २०८३ शुक्रबार १३:५७:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।