आनन्द कार्की र दुर्गेश थापाबीच पारिश्रमिक लफडा : ‘दुश्मन हेरेको हेर्यै’ को पैसा आयो, ‘रङ्गी’ को अत्तोपत्तो छैन
काठमाडौं : पछिल्लो एक साता संगीत क्षेत्रमा करोडौं स्रोता-दर्शक कमाएको चर्चित गीत ‘दुश्मन हेरेको हेर्यै’का सर्जक दुर्गेश थापा र वरिष्ठ गायक आनन्द कार्कीबीचको पारिश्रमिक लफडाले चर्चा पायो।
गीत रेकर्ड गराएर लामो समयसम्म पारिश्रमिक नदिएको तथा अभिनेता सलोन बस्नेतको चलचित्र ‘रङ्गी’को गीत गाएको पारिश्रमिक अझै नपाएको भन्दै गायक कार्कीले आक्रोश पोखेपछि दुई कलाकारबीच सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप चल्यो।
विवादको सुरुआत गायक कार्कीको एक टेलिभिजन अन्तर्वार्तापछि भएको हो। अन्तर्वार्तामा कार्कीले एक वर्षअघि रेकर्ड भएको ‘दुश्मन हेरेको हेर्यै’ र चलचित्र ‘रङ्गी’को गीतको पारिश्रमिक दुर्गेशले नदिएको गुनासो गरे।
कार्कीको अभिव्यक्ति सार्वजनिक भएलगत्तै दुर्गेशले पारिश्रमिक भुक्तानी गरिएको भन्दै एक कागजी सम्झौता सार्वजनिक गर्दै आरोपको खण्डन गरे।
त्यसपछि बुधबार एक विज्ञप्ति जारी गर्दै गायक कार्कीले आफ्नो उद्देश्य कसैलाई बदनाम गर्नु नभई कलाकारको श्रम, पारिश्रमिक र व्यावसायिक इमानदारीको विषय उठाउनु रहेको स्पष्ट पारे।
कार्कीले भने, “तिमीले मबाट गीत रेकर्ड गराएको र ‘रङ्गी’ चलचित्रका लागि समेत स्वर दिएको लामो समयसम्म पारिश्रमिक पाउन सकिनँ। आफ्नै भाइजस्तो ठानेर सुरुमा धैर्यपूर्वक प्रतीक्षा गरेँ, तर तारन्तार फोन, एसएमएस र मेसेन्जरमा ताकेता गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर मुख खोल्नुपरेको हो।”
उकेरासँगको कुराकानीमा कार्कीले टेलिभिजनमा बोलेपछि बल्ल दुर्गेशले ‘दुश्मन हेरेको हेर्यै’ बापतको २५ हजार रुपैयाँ दिएको बताए।
“मैले बोलेपछि मात्रै दुर्गेश भाइले सम्झौतापत्रमा हस्ताक्षर गराएर पैसा दिए,” कार्कीले भने, “दुर्गेश प्रतिभावान भए पनि अग्रजलाई सम्मान गर्न जानेन। गाह्रो छ भनेको भए म थोरै पारिश्रमिकमै पनि गाइदिन्थेँ।”
युट्युबमा यो गीतले एक वर्ष १० महिनाको अवधिमा १९ करोड ३० लाखभन्दा बढी भ्युज पाइसकेको छ।
‘रङ्गी’ को पारिश्रमिकमा अर्को उल्झन
‘दुश्मन हेरेको हेर्यै’को विवाद सल्टिए पनि चलचित्र ‘रङ्गी’को गीतको पारिश्रमिकमा भने नयाँ विवाद कायमै छ।
गायक कार्कीको प्रश्न छ, “मलाई गीत गाउन बोलाउने दुर्गेश नै हुन्। त्यहाँ निर्माता-निर्देशक कोही थिएनन्। जसले बोलायो, पारिश्रमिक उसैसँग माग्ने हो। म अरू कोसँग माग्न जाऊँ?”
यता दुर्गेश थापाले भने ‘रङ्गी’को पारिश्रमिक आफूले नभई निर्माण टिमले दिनुपर्ने दाबी गरेका छन्।
दुर्गेश भन्छन्, “रङ्गीको पारिश्रमिक मैले दिने होइन, निर्माण टिमले दिने हो। मलाई ३ लाखको प्याकेज दिने भनिएकोमा अहिलेसम्म ५० हजार मात्र पाएको छु। आफूले नपाएको पैसा मैले कहाँबाट ल्याएर दिने?”
यस विषयमा चलचित्रका निर्माता सलोन बस्नेत र उनका बुबा शोभित बस्नेतसँग सम्पर्क गर्न खोज्दा उनीहरू सम्पर्कमा आउन चाहेनन्। व्यावसायिक रूपमा असफल बनेको उक्त चलचित्र हलमा एक साता पनि टिक्न सकेको थिएन।
कागजी सम्झौता भर्सेज ‘विश्वासको भर’
यो घटनाले नेपाली साङ्गीतिक क्षेत्रमा पारिश्रमिक र सम्झौताको कमजोर अभ्यासलाई पुनः बहसमा ल्याएको छ।
दुर्गेशले आफूले ‘दुश्मन हेरेको हेर्यै’मा सम्झौता गरेरै काम गरेको दाबी गरेका छन् भने गायक कार्की नेपाली साङ्गीतिक क्षेत्रमा अझै पनि कागजीभन्दा मौखिक विश्वासका भरमा गीत गाइने बताउँछन्।
“हामीलाई गाउन बोलाइन्छ, गाइन्छ र पारिश्रमिक माग्ने चलन छ। प्रायः सम्झौतापत्रमा हस्ताक्षर गरेर गाउने चलन नै छैन”, कार्कीको गुनासो छ।
चलचित्रमा कलाकारसँग लिखित सम्झौता गर्ने चलन बढे पनि संगीत क्षेत्रमा अझै कागजी सम्झौता प्रभावकारी नहुँदा यस्ता विवाद पटक-पटक दोहोरिने गरेका छन्।
कात्तिक १२, २०८३ बिहीबार १२:४९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।