विश्रामपछि दयाहाङको करिअरमा फेरि जादु!
काठमाडौं : बक्स अफिसको व्यापार सधैँ अनिश्चित रहन्छ- कुन बेला कस्तो कथाले दर्शकको मन छुन्छ र फिल्मले उत्साहजनक व्यापार गर्छ, पूर्व अनुमान गर्न कठिन हुन्छ। अभिनेता दयाहाङ राईको करिअरमा पनि उनका फिल्महरूको व्यावसायिक पक्ष केलाउँदा कहिले वर्षाको भेल त कहिले खडेरीको बगरजस्तै उतारचढाव देखिन्छ।
पछिल्लो समय राईका फिल्महरूले बक्स अफिसमा कम्जोर व्यापार गरिरहँदा पछिल्ला दुई फिल्मले भने निकै उत्साहजनक व्यापार गरे। माओत्से गुरुङद्वारा निर्देशित फिल्म ‘पेन्सनपट्टा’ले १० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो। अहिले प्रदर्शनरत अर्को फिल्म ‘कबड्डी ५’ले पनि राम्रो व्यापार गरिरहेको छ।
निर्माण पक्षको दाबीअनुसार प्रदर्शनको पाँच दिनमा ‘कबड्डी ५’ करिब ७ करोड रुपैयाँको ग्रस कलेक्सन गरिसकेको छ। यो व्यापार ‘कबड्डी ५’ भन्दा एक साताअघि प्रदर्शनमा आएका ‘छ माया छपक्कै २’, ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’को तुलनामा अगाडि रहेको बताइएको छ।
‘कबड्डी ५’को ग्रस कलेक्सनलाई लिएर दयाहाङका फिल्महरूले पुनः व्यावसायिक छलाङ मार्न थालेका त होइनन् भनेर फिल्म क्षेत्रमा चर्चा चल्न थालेको छ। यसअघि उनी अभिनीत ‘रिमै’, ‘कार्साङ’, ‘दुखी आत्मा’, ‘महाभोज’, ‘भुठान’, ‘मितज्यु’, ‘मिरमिरे’, र ‘मैझारो’ जस्ता फिल्महरू बक्सअफिसमा असफल भएका थिए।
विशेषगरी ‘भुठान’ लगायतका केही फिल्मप्रति दर्शकले चासो देखाएका थिएनन्। पछिल्लो दुई वर्षयता आफ्ना फिल्मप्रति दर्शकको चासो कम हुन थालेपछि राईले केही महिना फिल्मको छायाङ्कनबाट विश्राम (ब्रेक)समेत लिएका थिए।
माओत्से गुरुङको घरकै कथामा बनेको फिल्म ‘पेन्सनपट्टा’ र त्यसलगत्तै प्रदर्शनमा आएको ‘कबड्डी ५’ दुवैले दर्शकको राम्रो साथ पाएका छन्। फिल्म क्षेत्रमा राईले कथावस्तुको छनोटमा विशेष ध्यान दिन थालेका कारण हो वा पुरानो सफल टोलीसँगको सहकार्यका कारण दर्शक हलमा फर्किएका हुन् भन्ने विभिन्न कोणबाट विश्लेषण भइरहेको छ।
यद्यपि ‘कबड्डी ५’ आधिकारिक व्यापारिक आंकडा भने सार्वजनिक हुन बाकी छ। आउने सोमबार सार्वजनिक हुने बक्स अफिस रिपोर्टमा यस फिल्मको वास्तविक आंकडा देखाउने छ नै। निर्माण पक्षले सार्वजनिक गरेको व्यापारिक आंकडालाई आधार मान्ने हो भने फिल्म व्यवसायीक सफलतातिर रहेको देखिन्छ।
कात्तिक १२, २०८३ बिहीबार १५:१५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।