आनीको नागरिकताबारे भेटियो तीन गम्भीर प्रमाण !
काठमाडौं : सम्पत्ति शुद्धीकरण अनि नागरिकताबारे विवाद चर्किएपछि आनी छोइङ डोल्माले भिडियो सन्देश जारी गर्दै भनिन् “यसबारे बुझ्न मन छ भने सम्पत्ति शुद्धीकरण विभागमा गएर बुझ्नुस्। राष्ट्र बैंक बालुवाटारमा छ गएर बुझ्नुस्। नागरिकताबारे बुझ्न मन छ भने जिम्मेवार निकायमा गएर बुझ्नुस्।“
त्यसपछि उकेराले खोजी सुरु गर्यो। बुझ्नेक्रममा उनको नागरिकताको वैधताबारे तीन महत्वपूर्ण प्रमाण फेला परे।
पहिलो प्रमाण उनकै आत्मकथा फूलको आँखामा रहेको प्रशंग। जसमा लेखिएको छ- मेरो नशाहरूमा अभिभावकबाट आएको भोटिया रगत बग्ने गर्छ। तर पनि म आफूलाई नेपाली ठान्छु।
आनी छोइङ डोल्माले लेखेको आत्मकथामा रहेको उनको अभिभावकको प्रशंगमा प्रस्ट रूपमा उनको बुबा आमा तिब्बतबाट आएको उल्लेख गरेकी छिन्।
दोस्रो प्रमाण जिल्ला प्रशासन कार्यालय काठमाडौँले २०७६-९-१३ मा तत्कालीन महानगरीय प्रहरी कार्यालय काठमाडौँलाई पठाएको पत्र। सो पत्रमा २०४६-२-१९ मा छोइङ डोल्मा मुक्तान लामाले नागरिकता लिएको र मिति २०६६-७-२४ मा नयाँ नम्बर कायम गरेर प्रथम प्रतिलिपि दिएको विवरण उल्लेख छ।
तेस्रो प्रमाणमा ‘२०४६ सालमा आनी छोइङ डोल्माले कान्छा बहादुर लामाको नामबाट नेपाली नागरिकता लिएको भन्नेकुरा सुन्दा मलाई अचम्म लागेको छ। उहाँसँग मेरो नाता सम्बन्ध केही पनि छैन’ लेखिएको छ।
यो प्रमाण चैँ आनीले बाबु बनाएर नागरिकता लिएका कान्छा बहादुर लामाको छोरा प्रमान सिंह लामा (मगइँ) को निवेदन हो।
उकेराले पाएको तीन प्रमाणले आनीका आमा-बुबा तिब्बती नागरिक रहेको, उनको नागरिकताबारे प्रहरीले अनुसन्धान सुरु गरेको र उनले जसलाई बाबु बनाएर वंशजको नागरिकता लिइन् ती व्यक्तिसँग उनको कुनै नाता नरहेको देखायो।
अब आनीको नागरिकता कसरी सक्कली ?
OOO
आनीको नागरिकताको वैधताको खोजीकाक्रममा फेला परेका प्रमाणका विस्तृत विवरण उल्लेख गर्नु अगाडि नेपालको नागरिकता कानुनबारे संक्षेपमा उल्लेख गरौँ।
आनीले जुन समयमा नेपालको नागरिकता लिएकी थिइन् त्यो बेलामा नेपालमा नेपालको नागरिकता सम्बन्धी ऐन २०२० कायम थियो।
सो ऐनमा वंशज र अङ्गीकृत नागरिकता पाउन सक्ने कानुनी व्यवस्था गरेको देखिन्छ। वंशजको नागरिकताका लागि कुनै व्यक्ति जन्मँदा उनको बाबु नेपाली नागरिक रहेको अवस्थामा वंशजको नागरिकता पाउन सक्ने देखियो।
नेपालभित्र फेला परेको तर पितृको ठेगाना नभएको अवस्थामा पनि बाबु पत्ता नलगेसम्म वंशजको नागरिकता पाउने कानुनी प्रावधान छ। २०२० को ऐनमा नाबालिग र मानसिक समस्या भएको व्यक्ति बाहेकले अरू कसैले नेपाली नागरिकताका लागि आवेदन दिएमा अङ्गीकृत नागरिकता पाउने कानुनी प्रावधान थियो।
त्यसमा नेपाली बोल्न सक्ने, आफ्नो जीवन निर्वाह गर्न सक्ने, अन्य देशको नागरिक नरहेको र भएमा त्यागेको लगायतमा सर्त राखिएको छ। त्यसमा त्यस्ता व्यक्ति नेपालमै जन्मिएको भए २ वर्ष अवधि र नेपाल बाहिर जन्मिएको हकमा १२ वर्ष नेपालमा बसेको हुनु पर्ने सर्त राखेको देखिन्छ।
यो त भयो नागरिकता लिने तत्कालीन कानुन र त्यसको प्रावधान। यो अनुसार आनीले कुन चैँ कानुन अनुसार नेपाली नागरिकता लिएकी हुन् त?
OOO
आनीले आफ्नो आत्मकथाको किताब ‘फूलको आँखामा’मा लेखेको प्रसङ्गले उनको बुबा आमा चीनको तिब्बतबाट सन् १९५० मा आफ्नो थातथलो अर्थात् तिब्बत छाडेर पहिला भारत गएको र त्यसपछि नेपाल आएको देखिन्छ। अर्थात् उनको आमा अनि बुबा नै नेपाली नागरिक हैनन्।
पुस्तकमा उनले लेखे अनुसार उनको आमाबुबाको राष्ट्रियता प्रस्ट रूपमा तिब्बत रहेको र उनीहरू शरणार्थीको रूपमा भारत हुँदै नेपाल आएको देखिन्छ। उनको बाबुआमाको भेट भारतमा भएको थियो। तिब्बत चीनले लिएपछि त्यहाँका नागरिकहरू भागेर नेपाल हुँदै अधिकांश भारत जान्थे। भारतमा तिब्बतबाट निर्वासित धर्मगुरु दलाई लामा नै बस्छन्। त्यहीँ रहेको धर्मशालामा तिब्बती शरणार्थीहरू बस्छन्।
भागेर आएका केही तिब्बती शरणार्थी नेपालमै बसे, भारतमा पुगेका केही पून नेपाल फर्किए। अनि केही नेपालबाट तेस्रो देश गए। पुस्तकको प्रसङ्गले उनको आमाबुबा नेपाली नभएको देखिएकाले वंशजको नागरिकता पाउने सम्भावना देखिन्न।
पुस्तकमा उल्लेख भए अनुसार भारतमा आनीको आमाबुबाको भेट भएर विवाह भयो। अनि उनीहरू भारतबाट नेपाल आए। किताबकै प्रशंग अनुसार आनीको जन्म नेपालमा भएको देखिन्छ।
यसले आनी लावारिस हैनन् भन्ने पुष्टि गर्छ। उनको आमाबुबा उनको साथमै रहेको उनकै आत्मकथाले पुष्टि गर्छ। अर्थात् नेपालभित्र फेला परेको र अभिभावक नखुलेको हकमा पाइने वंशजको नागरिकताका लागि पनि उनी कानुनी रूपमा योग्य देखिइनन्।
अब आयो अङ्गीकृत नागरिकता। नेपालमा जन्मिएको २ अनि नेपाल बाहिर जन्मिएर पछि नेपाल आएको १२ वर्ष बितेको अवस्थामा अङ्गीकृत नागरिकता लिनसक्ने कानुनी प्रावधान छ।
उकेराले प्राप्त गरेका प्रमाणहरूमा उनले नेपाली नागरिकता कसरी लिएको भन्ने विवरण खुले पनि उनको नागरिकताको प्रकार भने खुलेको थिएन। त्यसपछि उकेराले यसबारे लामाको परिवार बसोबास गर्ने अहिलेको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ को कार्यालयमा उनको के-कस्तो विवरण छ भनेर सोधखोज सुरु गर्यौँ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र क्षेष्ठसँग सम्पर्क गर्दा उनले आनीले २०४६ सालमा गाउँमा आएको नागरिकता टोलीबाट नागरिकता बनाएको र उनको नागरिकताको प्रकार वंशज रहेको जानकारी दिए।
“उहाँले नागरिकता टोलीबाट नागरिकता बनाएको देखिन्छ। नागरिकताको प्रकार वंशज रहेको छ” उनले भने
उनको नागरिकतामा बाबुको नाम कान्छाबहादुर लामा रहेको देखियो। तर कान्छाबहादुर लामाको छोराले आफ्नो बाबुको मृत्यु २०३९ मै भएको, आनीले के कसरी नागरिकता लिएको हो त्यसबारे आफूलाई जानकारी नभएको र उनीसँग आफ्नो कुनै नाता सम्बन्ध नभएको भन्दै प्रशासनमा दिएको निवेदन फेला पर्यो।
निवेदनमा प्रमान सिंह लामा (मगई) ले कान्छाबहादुर लामा आफ्नो बुबा भएको तर आनी छोइङसँग आफ्नो कुनै सम्बन्ध नभएको र यसले आफ्नो परिवारको बेइज्जत भएको भन्दै आवश्यक कानुनी कार्वाहीको माग गरेको खुल्यो।
यो निवेदनले आनीले कान्छाबहादुर लामालाई बाबु कायम गरेर नागरिकता लिएको तर उनी सो परिवारको सदस्य नभएको देखियो। अर्थात् प्राप्त प्रमाणहरूले उनले नक्कली बाबु बनाएर वंशजको नागरिकता लिएको हुनसक्ने सम्भावना बलियो देखियो।
जब प्रमानले निवेदन दिए त्यसपछि आनीको नागरिकताबारे प्रहरीले औपचारिक अनुसन्धान सुरु गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंको पत्रले खुलायो। उकेराले पाएको जिल्ला प्रशासन कार्यालयको पत्रले २०७६ मा आनीको नागरिकताबारे प्रहरीले औपचारिक रूपमा अनुसन्धान सुरु गरेको पुष्टि गर्छ। अनुसन्धानकोक्रममा प्रहरीले २०७६-९-१३ मा आनीको नागरिकताको प्रतिलिपि माग्दै जिल्ला प्रशासनमा पत्र पठाएको खुल्यो। प्रशासनको प्रशासकीय अधिकृतले प्रहरीलाई पठाएको पत्रमा आनी छोइङको नागरिकता लिएको मिति, नागरिकता नम्बरसहितको विवरणसहित प्रतिलिपि निकालेको मिति र थप भएको नम्बर समेत खुलाएको छ।
त्यसमा प्रशासनले नागरिकता सम्बन्धित नागरिकता बाहकसँग हुने भन्दै प्रतिलिपि नभएको तर त्यसको अभिलेख रजिस्टर रहेको भन्दै २०७६ पुस १३ मा रजिस्टरको फोटोकपी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको खुल्यो।
यसबारेको अनुसन्धानको अवस्थाबारे बुझ्न उकेराले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापालाई कल गर्दा फोन काटियो, पछि कल गर्ने सन्देश आयो। तर कल आएन।
वडाध्यक्ष श्रेष्ठले उकेरासँग लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनीको नियुक्ति भएको समाचार बाहिरिएसँगै नागरिकता विवाद आएपछि आफूले बुझ्ने काम गरेको तर अहिलेसम्म कुनै सरकारी निकायले आनीको नागरिकताबारे बुझ्न सम्पर्क नगरेको बताउँदै सम्पर्क गरेमा भएका विवरण दिन सकिने जानकारी दिए।
OOO
अब बाँकी रह्यो सम्पत्ति शुद्धीकरणको विषय। विदेशबाट नेपालमा रकम ल्याउँदा सम्बन्धित नियामक निकायलाई पूर्व जानकारी दिनुपर्ने अनुमति लिनु पर्ने भए पनि हङकङका नागरिक लियाङ चुङ हाङ र जियोरीले आनीको तत्कालीन मेगा बैंकमा रहेको खातामा तीन दिनमा १६ लाख ४९ हजार ९४० अमेरिकी डलर भित्र्याएको सार्वजनिक भएकै विषय हो।
यसका लागि उनले सम्बन्धित निकायलाई पूर्व जानकारी पनि दिएको देखिएन। अनुमति पनि लिएको देखिएन। अनि नेपाल राष्ट्र बैंकले उनको खाता रोक्का गरेर छानबिन सुरु गर्यो।
छानबिनमा सो रकमको स्रोत शंकास्पद देखिएपछि राष्ट्र बैंकले छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागमा पठायो। विभागले अनुसन्धान सुरु गरेर उनको बयान पनि लियो। त्यसपछि सुरु भयो राजनीतिक चलखेल।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय अनुसन्धान रोक्न सक्रिय भयो। तर विभाग नेतृत्वले मानेन। त्यही बेलामा विभागमा महानिर्देशक जीवनप्रकाश सिटौलाको सरुवा गरेर रूपनारायण भट्टराइलाई ल्याइयो।
आफ्नो रकम रोकिएको दुई महिनापछि आनीले प्रधानमन्त्री ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रमका लागि एक करोड रुपैयाँ सहयोग गरिन्। त्यसपछि अनुसन्धान सेलायो। विभागका केही अधिकारीहरूसँग बुझ्दा उनको अनुसन्धान अहिले तामेलीमा रहेको बुझियो। तामेलीमा रहेको अनुसन्धान विभागले चाहेमा पुन सुरु गर्न सक्छ। अर्थात् सम्पत्ति शुद्धीकरणको अनुसन्धान पनि अझैँ टुंगिएको छैन।
OOO
लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएपछि अहिले आएर आनीको सम्पत्ति शुद्धीकरण र नागरिकताको विषय चर्चामा आए पनि यो २०७६ मै सार्वजनिक भएको थियो। अनुसन्धान सुस्त भएसँगै यो विषय ओझेलमा परेको थियो। आनीको नियुक्तिसँगै पुन दुवै गम्भीर विषय सतहमा आए।
र गम्भीर प्रमाणहरू सार्वजनिक भए। उकेराले पाएको उनको नागरिकता सम्बन्धी विवरण र प्रमाणहरूले उनले वैध रूपमा नागरिकता लिएकी हैनन् भन्ने पक्ष निकै बलियो देखिन्छ। सम्पत्ति शुद्धीकरणको विषय राजनीतिक दबाबमा थाँती राखेको घटना विवरणले पुष्टि गर्छ।
तर आनी यी दुवै विषयमा प्रमाणसहित हैन, आलटाले जवाफ दिएर चोखिने प्रयासमा सक्रिय देखिन्छन्।
कात्तिक ११, २०८३ बुधबार २१:४३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।