पोखरा एभेन्जर्समा साकिब : हिन्दी बोल्छन्, सबैलाई ‘भाइ’जस्तै ट्रिट गर्छन्
काठमाडौं : पोखरा एभेन्जर्सका विकेटकिपर ब्याटर अर्जुन घर्तीले बंगलादेशी क्रिकेटका लेजेन्ड तथा विश्वचर्चित अलराउन्डर शाकिब अल हसन निकै मिलनसार रहेको र ड्रेसिङ रुममा सबै नेपाली खेलाडीलाई आफ्नै ‘भाइ’जस्तै व्यवहार गर्ने बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा पराजित भएपछिको पत्रकार सम्मेलनमा बोल्दै अर्जुनले विश्व क्रिकेटका महान् खेलाडी शाकिबसँग एउटै ड्रेसिङ रुम र अनुभव साटासाट गर्दाको माहोलबारे बोलेका हुन्।
शाकिबजस्तो अन्तर्राष्ट्रिय क्रिकेटको ठूलो नाम टोलीमा हुँदा ड्रेसिङ रुमको वातावरण कस्तो छ भन्ने सञ्चारकर्मीको प्रश्नमा अर्जुनले भने, “उहाँ त एकदमै हम्बल हुनुहुन्छ। हजुर सबैलाई थाहै छ, उहाँ लेजेन्ड मान्छे हुनुहुन्छ। उहाँले हरेक कुरा हामीसँग सेयर गर्नुहुन्छ।”
नेपाली खेलाडीहरूसँग संवाद गर्न शाकिबले हिन्दी भाषा प्रयोग गर्ने गरेको र त्यसले माहोल झनै रमाइलो बनाएको अर्जुनले सुनाए।

“उहाँ स्पेसल्ली हिन्दी बोल्नुहुन्छ। त्यसले गर्दा एकदमै रमाइलो पनि हुन्छ,” उनले थपे, “हामीले जे कुरा सोध्छौँ, उहाँ मजाले भनिदिनुहुन्छ। उहाँले कुनै ठूलो–सानो वा तल–माथि गरेर भन्दा पनि हामी सबैलाई आफ्नै भाइहरूजस्तो ट्रिट गरिराख्नुभएको छ।”
विश्वस्तरीय लिगहरू खेलिसकेका र बंगलादेशका पूर्वकप्तानसमेत रहेका शाकिबको आगमनले पोखरा एभेन्जर्सको टोलीमा ऊर्जा थपेको छ।
अर्जुनका अनुसार शाकिबको सरल स्वभाव र खुलेर कुरा गर्ने बानीका कारण युवा नेपाली खेलाडीहरूलाई उनीबाट अनुभव र खेलको सूक्ष्म रणनीति सिक्न निकै सहज भइरहेको छ।
कात्तिक ११, २०८३ बुधबार २२:४२:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।