“हरर कमेडीमा अभिनयको रहर छ, तर हेर्दा डरले भाग्छु”

“हरर कमेडीमा अभिनयको रहर छ, तर हेर्दा डरले भाग्छु”

बालकालकारका रूपमा भारतमै अभिनय यात्रा सुरु गरेकी थिइन्, तृप्ति नाडकरले। दुई वर्षकै उमेरबाट अभिनय थालेकी उनले नेपाली रजतपटमा प्रवेश गर्नुअघि नै मराठी र हिन्दी फिल्ममार्फत दर्शकको ध्यान खिचिसकेकी थिइन्।

नेपालमा फिल्म निर्माणको सुरसार गरिरहेका निर्देशक शम्भु प्रधान, अभिनेता भुवन केसी र निर्देशक तुलसी घिमिरे नयाँ अनुहारको खोजीमा भारत पुगेका थिए। 

त्यतिबेला तृप्ति मराठी फिल्म ‘घरचा भेदी’मा काम गर्दै थिइन्। तृप्तिको पुर्ख्यौली जग नेपालकै दोलखासँग जोडिन्छ। भारतीय सेनामा कार्यरत उनका बुबाको दार्जिलिङ पोस्टिङ हुँदा दोलखाकी आमासँग प्रेमविवाह भएको थियो।

शम्भु, भुवन र तुलसीले उनलाई नेपाली फिल्म ‘सम्झना’का लागि प्रस्ताव गरे। उनले प्रस्ताव स्विकारिन् अनि भुवन केसीको जोडी बनेर नेपाली रजतपटमा डेब्यु गरिन्। पहिलो फिल्म नै सुपरहिट भयो।

त्यसपछि उनलाई लगातार फिल्मका अफर आए। ‘साइनो’, ‘लाहुरे’ जस्ता फिल्मले उनलाई नेपाली दर्शकको मनमा सधैँका लागि स्थापित गरिदिए।

सन् २००९ मा ‘कुसुमे रुमाल-२’ मा अभिनय गरेपछि भने उनी लामो समय नेपाली पर्दाबाट टाढा रहिन्। झन्डै दुई दशकको अन्तरालपछि विक्की अग्रवालको निर्देशनमा निर्माण भएको फिल्म ‘ककाकिकी’मार्फत उनी नेपाली फिल्ममा फर्किएकी छन्। 

लामो समयपछिको कमब्याक र उनको विगतलाई लिएर अभिनेत्री तृप्ति नाडकरसँग भोला अधिकारीले गरेको कुराकानी:

झन्डै १८ वर्षपछि एकाएक फिल्म ‘ककाकिकी’मा देखिनुभयो। यो फिल्मसँग कसरी जोडिनुभयो?
म आफ्नै घरायसी काममा व्यस्त थिएँ। फिल्मका निर्देशक विक्की अग्रवालले मलाई खोज्नुभएको रहेछ। निकै प्रयासपछि उहाँले मेरो फोन नम्बर पत्ता लगाउनुभएछ। एकदिन फोन गरेर भन्नुभयो, ‘दिदी, तपाईंले फिल्ममा काम नगरेको यति धेरै वर्ष भयो, फेरि काम गर्नुहुन्छ कि हुन्न?’

मैले पहिले कथा सुनाउनुस् भनेँ। कथा सुनेपछि मलाई निकै मन पर्यो। मैले अहिलेसम्म कमेडी भूमिकामा काम गरेकी थिइनँ। अवसर पाएको बेला गरिहालौँ भन्ने लाग्यो। कुरा मिल्यो अनि अभिनयमा फर्किएँ।

फिल्ममा अन्य कलाकार को-को छन् भन्ने चासो त पक्कै भयो होला नि?
त्यो चासो त भइहाल्छ नि! कलाकारमा गौरी मल्लको नाम सुनेँ, उहाँसँग मैले पहिले काम गर्न पाएकी थिइनँ। अर्को रेखा थापा हुनुहुँदो रहेछ, उहाँसँग मेरो यो तेस्रो सहकार्य हो। यसअघि ‘हामी ट्याक्सी ड्राइभर’ र ‘देवर बाबु’मा रेखासँगै काम गरेकी थिएँ। कलाकारको टिम निकै राम्रो लाग्यो, अनि काम गर्न राजी भएँ।

नेपाली फिल्ममा कति वर्षपछि फर्किनुभयो?
१८/१९ वर्षपछिको कमब्याक हो यो।

यति लामो समय अभिनय नै गर्नुभएन कि उतै (भारतमा) व्यस्त हुनुभयो?
यो बिचमा मेरी आमा बित्नुभयो। त्यसपछि म पारिवारिक जिम्मेवारीमा बाँधिएँ। घर सम्हाल्नुपर्दा अभिनयतिर ध्यानै दिन पाइनँ।

​​​​​​​

नेपाली फिल्मकर्मीले खोज्दै नआएर हो कि तपाईंलाई नै नेपाल आउने वातावरण नमिलेको?
खोज्दै नखोजेका त नभनौँ, म आफ्नै काममा व्यस्त भएकाले मैले पनि चासो दिन पाइनँ। मलाई खोज्दै पनि कोही आउनुभएन। विक्कीजी चाहिँ जसरी पनि काम गराउँछु भनेर खोज्दै आउनुभयो। अरूले पनि यसरी नै खोजेको भए भेटिन्थेँ कि!

यतिका वर्षपछिको सुटिङ सेटमा फर्किँदाको अनुभव सुनौँ न!
निकै राम्रो भयो। पहिले नेपाली फिल्ममा काम गर्दाका पुराना सम्झनाहरू ताजा भए। टिम निकै रमाइलो थियो, सुटिङमा खुब मजा आयो। पहिला नेपाली कलाकारहरू थोरै हुनुहुन्थ्यो, अहिले त एकसेएक प्रतिभाशाली कलाकारहरू आउनुभएको रहेछ। नेपाली फिल्म उद्योग पनि पहिलाको भन्दा निकै विकसित भइसकेछ, देखेर खुसी लाग्यो।

तपाईं भारतमै मराठी र हिन्दी फिल्ममा काम गर्दै हुनुहुन्थ्यो। नेपाली फिल्ममा कसरी प्रवेश भयो?
मैले नेपाली फिल्ममा काम गरेको ३५ वर्षभन्दा बढी भइसक्यो। तर, भारतमा त म बालकालकारका रूपमा दुई वर्षको उमेरदेखि नै अभिनय गर्थेँ। त्यो बेला म मराठी फिल्म ‘घरचा भेदी’को सुटिङमा थिएँ। त्यही स्टुडियोमा शम्भु प्रधान दाइको एडिटिङ रुम थियो।

त्यतिबेला तुलसी घिमिरे (मामा), भुवन केसी र शम्भु दाइको टिम नेपाली फिल्मका लागि नयाँ हिरोइन खोजिरहेको रहेछ। सुटिङकै क्रममा उहाँहरूले मलाई नेपाली फिल्म खेल्ने प्रस्ताव गर्नुभयो। कुरा मिल्यो, अनि ‘सम्झना’मार्फत नेपाली फिल्ममा जोडिएँ।

सुरुवातमै भुवन केसीसँग जोडी बाँध्नुभयो, त्यो अनुभव कस्तो रह्यो?
म सानैदेखि क्यामेराअगाडि हुर्किएकी हुनाले अभिनय गर्न त गाह्रो भएन। तर, मलाई नेपाली भाषाले अलि दुःख दियो। त्यो बेला मेरो नेपाली प्रस्ट थिएन। अरूले बोलेको बुझ्थेँ, तर आफूलाई फर्काउन आउँदैनथ्यो।

त्यसो भए तपाईंको आवाजमा डबिङ कसले गर्नुभयो?
मेरो डबिङ भारती (भारती गजमेर) दिदीले गर्नुभएको थियो।

तपाईंकी आमा नेपाली हुनुहुन्थ्यो?
मेरी आमा मात्र होइन, हजुरआमा र बुबाको पुर्खा पनि दोलखाकै हो। हामी ब्राह्मण परिवारका हौँ। मेरी आमाको नाम मायाकुमारी शर्मा हो।

अनि तपाईंहरूको परिवार भारत कसरी पुग्यो त?
मेरो बुबा मिलिट्री (भारतीय सेना) मा हुनुहुन्थ्यो। पछि कर्णेलबाट अवकाश पाउनुभयो। बुबाको पोस्टिङ दार्जिलिङमा भएको बेला आमासँग भेट भएछ। प्रेम बस्यो, अनि आमालाई भगाएर लानुभएछ (हाँस्दै)। त्यसपछि बुबा उतै दार्जिलिङमै बस्नुभयो।

अभिनय त बाल्यकालमै सुरु गर्नुभयो, जीवनको लक्ष्य नै अभिनय थियो कि?
त्यस्तो योजना केही थिएन। मलाई त डाक्टर बन्नु थियो। तर डाक्टर बन्न सकिनँ (हाँस्दै)। पछाडिको ‘टर’ चाहिँ मिल्यो, डाक्टर बन्न नसके पनि ‘एक्टर’ भएँ!

त्यो बेलाको काठमाडौं र अहिलेको काठमाडौंमा के फरक पाउनुभयो?
धेरै फरक छ। त्यो बेला बाटोघाटो राम्रो थिएन, धुलो धेरै हुन्थ्यो। पहिला काठमाडौंका सबै ठाउँ थाहा हुन्थ्यो, अहिले त म धेरै ठाउँ नै चिन्दिनँ। निकै विकास भएछ।

विगतमा सुटिङ गरेका पुराना ठाउँहरूको सम्झना आउँछ?
याद आइहाल्छ नि! धेरैजसो इलाम, पोखरा, मुस्ताङ र काठमाडौंमा सुटिङ हुन्थ्यो। ती पुराना ठाउँहरू अहिले पूरै बदलिइसकेछन्।

तपाईंले प्रायः लभस्टोरी फिल्ममा अभिनय गर्नुभयो। अब कस्तो भूमिका गर्ने रहर छ?
मलाई कमेडी-हरर फिल्ममा काम गर्ने खुब रहर छ।

हरर फिल्म कत्तिको हेर्नुहुन्छ त?
बच्चाहरूसँग हेर्छु। तर मलाई धेरै डर लाग्छ, अनि ‘म गएँ है’ भन्दै अर्को कोठातिर भाग्छु (हाँस्दै)। अहिलेको पुस्तालाई हरर फिल्म निकै मन पर्ने रहेछ, त्यसैले पनि एउटा राम्रो हरर फिल्म खेलौँ भन्ने लागेको हो।

अब अन्य नेपाली फिल्ममा पनि देख्न पाउँछौँ कि!
‘डियर काव्या’ भन्ने फिल्मका लागि कुरा भइरहेको छ। श्रद्धा प्रसाईंले निर्देशन गर्दै हुनुहुन्छ। यसका लागि अभिनेत्री दिया मास्केले मसँग कुरा गर्नुभएको थियो। यो हरर त होइन, पारिवारिक लभस्टोरी नै हो। त्यसमा म आमाको भूमिकामा देखिँदै छु।

कात्तिक १३, २०८३ शुक्रबार ०७:५९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।