उही १९.५ ओभर, उही ६२ रन र दुरुस्तै ‘पुशअप’ : एक वर्षपछि विराटनगरसँग कर्णालीको हुबहु बदला!
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा बिहीबार साँझ विराटनगर किङ्स र कर्णाली याक्सबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलले क्रिकेट समर्थकहरूलाई ठ्याक्कै एक वर्षअघिको उस्तै खेलको झल्को दियो।
एक वर्षअघि विराटनगरले कर्णालीको हातबाट जित खोसेकोमा बिहीबार कर्णालीले ठीक त्यही शैली, त्यही स्कोर र त्यही सेलिब्रेसन दोहोर्याएर विराटनगरलाई स्तब्ध बनाइदियो।
अघिल्लो संस्करणमा कर्णालीले दिएको १६१ रनको लक्ष्य पछ्याउँदा विराटनगर ६५ रनमै ५ विकेट गुमाएर हारको सङ्घारमा पुगेको थियो।
बिहीबार लोकेश बमको विस्फोटक ८७ रनको मद्दतमा विराटनगरले दिएको १८७ रनको लक्ष्य पछ्याउँदा कर्णाली पनि ५७ रनमै ५ विकेट गुमाएर उस्तै दयनीय अवस्थामा पुगेको थियो।

गत वर्ष विराटनगरका लागि बसिर अहमदले कठिन परिस्थितिमा अविजित ६२ रनको आक्रामक इनिङ्स खेल्दै टोलीलाई जित दिलाएका थिए।
बिहीबार कर्णालीका लागि कप्तान सोमपाल कामीले पनि संकटमोचक बन्दै ठ्याक्कै अविजित ६२ रन नै बनाए।
यी दुवै खेलको नतिजा अन्तिम ओभरको पाँचौँ बल अर्थात् १९.५ ओभरमै निस्किएको थियो।
गत वर्ष विजयी रन प्रहार गरेपछि बसिर अहमद हेलमेट फुकालेर ब्याट हावामा हल्लाउँदै मैदानभर दौडिएका थिए। बिहीबार सोमपाल कामी पनि अन्तिम रन पूरा हुनासाथ ब्याट उचालेर त्यसरी नै दौडिए।

गत वर्ष बसिरलाई जित दिलाउन अर्को छेउमा रहेका कप्तान सन्दीप लामिछाने दुवै खुट्टा हावामा फैलाएर खुसीले उफ्रिएका थिए। बिहीबार सोमपाललाई साथ दिइरहेका गुल्शन झाले पनि ठ्याक्कै त्यसरी नै दुवै खुट्टा फालेर हावामा उफ्रिँदै जितको संकेत गरे।

सबैभन्दा चर्चित दृश्य भनेको नन-स्ट्राइकरको सेलिब्रेसन थियो। गत वर्ष सन्दीपले मैदानको पिचमै दुई हातले ‘पुशअप’ गर्दै जित मनाएका थिए। बिहीबार गुल्शन झाले पनि हेलमेट भुइँमा फालेर पिचमै हुबहु सन्दीपको शैलीमा ‘पुशअप’ गरेर उत्सव मनाए।

प्रशिक्षक मल्लको त्यो मास्टरस्ट्रोक
विराटनगरले दिएको १८७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदा कर्णालीका शीर्ष ५ ब्याटर ५७ रनमै पेभेलियन फर्किसकेका थिए।
त्यतिबेला कप्तान सोमपाल कामी स्वयं ब्याटिङमा आउने मुडमा थिएनन्। त्यसअघि बलिङतर्फ ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिइसकेका सोमपाल केही थाकेका पनि थिए।
खेलपछिको पत्रकार सम्मेलनमा सोमपालले भनेका थिए, “मैले निर्णय लिएको भए मभन्दा अघि गुल्शनलाई पठाउँथेँ होला। तर डगआउटबाट ज्ञान दाइ (मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल) ले ‘सोम, तिमी जाऊ’ भन्नुभयो। दाइले हामीलाई सानैदेखि चिन्नुभएको छ। कुन खेलाडीले कुन समयमा नतिजा दिन सक्छ भन्ने उहाँलाई थाहा थियो।”

मैदान छिरेका सोमपालले पहिले ३६ रन बनाएका पवन सर्राफसँग छैटौं विकेटका लागि ६६ रन र पछि अविजित २८ रन जोडेका गुल्शन झासँग सातौं विकेटका लागि अविजित ६४ रनको विस्फोटक साझेदारी गरे। सोमपालले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित ६२ रन जोडेका थिए।
‘रुममेट’ को भरपर्दो साझेदारी
सोमपाल र गुल्शन नेपाली राष्ट्रिय टोलीमा मात्र होइन, विगत ४-५ वर्षदेखि नेपाल क्रिकेटको क्याम्पमा एउटै कोठाका ‘रुममेट’ हुन्। त्यो सुझबुझ बिहीबारको अन्तिम ओभरहरूमा पनि देखियो।
“हामीलाई एकअर्काको बानी थाहा छ। रन लिन कलिङ नै गर्नु पर्दैन,” सोमपालले भने, “६ ओभरमा ७०/८० रन बनाउनु परे पनि म र गुल्शन क्रिजमा रहेसम्म खेल जित्छौँ भन्ने मलाई आत्मविश्वास थियो।”

अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक रहेको स्थितिमा अन्तिम २ रन लिँदा विराटनगरले रनआउटको अपिल गरेको थियो। तर स्क्रिनमा निर्णय आउनुअघि नै सोमपाल र गुल्शनले जितको उत्सव सुरु गरिसकेका थिए। गुल्शन समयमै क्रिजमा पुगेकोमा आफू ढुक्क रहेको सोमपालको भनाइ थियो।
विराटनगरको शिविरमा निराशा र गल्तीको समीक्षा
अर्कोतर्फ, खेल हातमा आइसकेपछि गुमाउन पुगेको विराटनगर किङ्सको ड्रेसिङ रुम भने स्तब्ध बन्यो। सोमपालले ५० रन कटाउनुअघि विराटनगरका फिल्डरहरूले उनका दुईवटा महत्वपूर्ण क्याच छाडेका थिए।
विराटनगरका श्रीलङ्काली अनुभवी अलराउन्डर एन्जेलो म्याथ्युजले पत्रकार सम्मेलनमा टोलीको प्रदर्शनप्रति कडा टिप्पणी गरे।

“हाम्रो हातमा खेल आइसकेको थियो। हामीले जित्ने पोजिसनबाट खेल कसरी गुमाउने भनेर नयाँ-नयाँ तरिका खोजिरहेका छौँ जस्तो लाग्छ,” बलिङतर्फ ३ विकेट लिएका म्याथ्युजले भने,[1] “क्रिकेटमा क्याच छाडेपछि मूल्य चुकाउनुपर्छ। सोमपालको क्याच ड्रप हुनु नै हाम्रो हारको कारण बन्यो।”
कप्तान सन्दीप लामिछानेले पनि दोस्रो इनिङ्समा परेको शीतका कारण बलरलाई बल ग्रिप गर्न कठिन भए पनि फिल्डिङको गल्तीलाई ढाकछोप गर्न नसकिने बताए।

“हामीले खेलभर ४/५ वटा क्याच छाड्यौँ। राम्रो सुरुआतपछि पनि अन्तिमका ओभरहरूमा लय गुमाउँदा नतिजा उल्टियो,” सन्दीपको स्वीकारोक्ति थियो।
कात्तिक १३, २०८३ शुक्रबार ११:४९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।