उपत्यकामा प्रहरीको ‘स्वीप अपरेसन’: ९२ जना पक्राउ, १३ जना फरार कसुरदार पनि समातिए
काठमाडौं : काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा २४ घण्टामै ९२ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उपत्यकाका सार्वजनिकस्थल, सार्वजनिक यातायातका साधन, सरकारी कार्यालय वरपर र अत्यधिक भीडभाड हुने क्षेत्रहरूलाई लक्षित गरी चलाइएको सुरक्षा अभियानका क्रममा ८४ पुरुष र ८ महिला गरी ९२ जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरूका साथै अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका १३ जना कसुरदारहरूसमेत रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार समाजमा शान्ति सुरक्षा कायम गर्न र सम्भावित अपराध रोकथामका लागि प्रहरीले निगरानी तथा जाँचलाई तीव्र बनाएको छ। विशेषगरी सार्वजनिक यातायात तथा भीडभाड हुने स्थानमा हातपात, हुलहुज्जत, दुर्व्यवहार, चोरी, लुटपाट, बिचौलिया धन्दा र गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई लक्षित गरी यो अपरेसन चलाइएको उनले जानकारी दिए।
प्रहरीले सार्वजनिकस्थलहरूमा अवाञ्छित गतिविधि रोक्न र सर्वसाधारणलाई सुरक्षाको अनुभूति दिलाउन यस्ता विशेष अभियानले सहयोग पुर्याउने अपेक्षा लिएको छ। पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको र काठमाडौंमा यस्तो विशेष निगरानी तथा जाँचलाई निरन्तरता दिइने प्रहरी परिसरले जनाएको छ।
कात्तिक ११, २०८३ बुधबार १३:३३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।