एमबाप्पेले माफी त मागे, तर उनले के बोलेका थिए चिनियाँ नागरिकलाई थाहै छैन

एमबाप्पेले माफी त मागे, तर उनले के बोलेका थिए चिनियाँ नागरिकलाई थाहै छैन

काठमाडौं : विश्वविख्यात फ्रान्सेली फुटबल खेलाडी किलियन एमबाप्पेले चीनसँग औपचारिक रूपमा माफी मागिसकेका छन्।

उनको क्लब रियल म्याड्रिड र स्पेनिस लिग ‘ला लिगा’ले पनि चिनियाँ नागरिकको भावनामा चोट पुर्याएको भन्दै क्षमायाचना गरेका छन्।

चीनले टेलिभिजनमा ला लिगाको प्रत्यक्ष प्रसारण नै रोकिदिएको छ भने ठूला कम्पनीहरूले एमबाप्पेसँगका करोडौं डलरका सम्झौताहरू तोडेका छन्।

तर, यो सम्पूर्ण प्रकरणको सबैभन्दा अनौठो पक्ष के हो भने- एमबाप्पेमाथि खनिएका र आक्रोश पोखिरहेका लाखौँ चिनियाँहरूलाई उनले वास्तवमा के बोलेका थिए भन्ने नै थाहा छैन!

चीनको कडा इन्टरनेट सेन्सरसिपका कारण त्यहाँका १ अर्ब ४० करोड नागरिक बाहिरी विश्वको खुला इन्टरनेटबाट अलग छन्।

चिनियाँ सामाजिक सञ्जालमा केवल एउटा भाष्य फैलाइयो- “एमबाप्पेले चिनियाँ जनताको भावनामा गम्भीर चोट पुर्याए।”

यति एउटा वाक्य नै चिनियाँ सामाजिक सञ्जालमा एमबाप्पेविरुद्ध घृणा र आक्रोशको सुनामी ल्याउन पर्याप्त बन्यो।

इन्टरनेटमा चर्को सेन्सरसिप र बहुमतको विचारसँग असहमत हुन डराउने प्रवृत्तिका कारण सर्वसाधारणले घटनाको सत्यतथ्य नबुझीकनै उनको बहिष्कार गर्न थाले।

एआई च्याटबट पनि मौन, माओको नाम लिन ‘सङ्केत’को भर
अनलाइनमा चर्को बहस चलिरहँदा धेरै चिनियाँ प्रयोगकर्ताहरूले ‘वास्तवमा एमबाप्पेले के भनेका हुन्?’ भनेर खोज्ने प्रयास नगरेका होइनन्।

उनीहरूले बुझ्नका लागि स्थानीय एआई च्याटबटहरूसँग प्रश्न सोधे। तर, चिनियाँ इन्टरनेटजस्तै सेन्सर गरिएका ती एआईले पनि कुनै जवाफ दिएनन्।

विवादका बारेमा लेखिएका पोस्टहरूमा समेत कसैले पनि कम्युनिस्ट पार्टीका संस्थापक नेता माओ त्सेतुङको नाम सिधै उल्लेख गर्ने हिम्मत गरेनन्।

चीनमा ऐतिहासिक पार्टी नेता तथा शहीदहरूको अपमान गर्नु कानुनी अपराध मानिन्छ। त्यसैले प्रयोगकर्ताहरूले माओको नामको साटो ‘१०० युआनको नोटमा हुने मान्छे’ वा ‘शिक्षक’ (माओले आफ्नो जीवनकालमा प्रयोग गर्ने पदवी) जस्ता गुप्त संकेतहरू प्रयोग गरेर घटनाको चर्चा गरिरहेका छन्।

सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोका स्क्रिनसटहरूमा पनि एमबाप्पेको अनुहार र ‘तानाशाह’ लेखिएको शब्दलाई ब्लर बनाइएको छ।

वास्तवमा भएको के थियो ?
फुटबल फ्यानहरूले एमबाप्पेको एउटा छोटो अन्तर्वार्ता क्लिप फेला पारेका थिए, जहाँ उनले आफूलाई सबैभन्दा धेरै हँसाउने एउटा ‘मिम’बारे चर्चा गरेका थिए।

त्यो मिममा एमबाप्पेको अनुहार माओ त्सेतुङको शरीरमा जोडिएको थियो र त्यसमा माओलाई ‘चिनियाँ तानाशाह’का रूपमा चित्रण गरिएको थियो।

एमबाप्पेले अन्तर्वार्तामा माओको नाम नलिए पनि त्यो मिममा हाँसेकै भरमा चिनियाँ राष्ट्रवादीहरूले यसलाई राष्ट्रिय अपमानको विषय बनाए।

चीन विश्व खेलकुदको विशाल बजार भएकाले एमबाप्पे, रियल म्याड्रिड र ला लिगाले कुनै प्रतिवाद नगरी तुरुन्तै माफी मागे।

तर चीनबाहिर खुला इन्टरनेट प्रयोग गर्ने विश्वभरका मानिसहरू भने यो दृश्य देखेर छक्क परेका छन्।

सामाजिक सञ्जाल एक्स र इन्स्टाग्राममा धेरैले प्रश्न गरिरहेका छन्- “कुनै देशका जनतालाई घटनाको वास्तविकता के हो भनेर थाहा पाउने अधिकारसम्म छैन, तर सरकारको इसारामा उनीहरूलाई कसैमाथि रिस पोख्न र माफी मगाउन भने छुट दिइन्छ। यो कस्तो अचम्मको समाज हो?”

कात्तिक १३, २०८३ शुक्रबार ०९:५२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।