६ हजार शिक्षकको बढुवा पुनरावलोकनलाई तीव्रता, जिल्लागत रूपमा नतिजा प्रकाशन सुरु
काठमाडौं : शिक्षक सेवा आयोगले कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरी पुनरावलोकन गरी नतिजा प्रकाशनको कामलाई तीव्रता दिएको छ।
आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयबाट गरिएको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको योग्यताक्रम सूची धमाधम प्रकाशन गरिएको हो।
‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ (संशोधनसहित) को परिच्छेद १५ अन्तर्गत व्यवस्था भएबमोजिम आयोगले प्राप्त कागजात र प्रमाणहरुको अध्ययन गरी सम्बन्धित जिल्ला तथा तहका शिक्षकको बढुवा नतिजा कायम गर्ने गरी नतिजा प्रकाशन थालेको आयोगले जनाएको छ ।
प्रदेशस्थित शिक्षा विकास निर्देशनालयहरूले गरेको कार्यसम्पादन मूल्याङ्कनमाथि असन्तुष्टि जनाउँदै शिक्षकहरूले दिएका उजुरीमाथि छानबिन भइरहेको अवस्थामा विगत छ महिनादेखि आयोगका पदाधिकारी रिक्त हुँदा पुनरावलोकनको काम रोकिएको थियो।
आयोगले पछिल्लो समय कात्तिक महिनामा माध्यमिक द्वितीय तहका इलाम, सुनसरी, झापा र सोलुखुम्बु तथा असोज २९ गते प्राथमिक द्वितीय तहका लमजुङ, बागलुङ, गोरखा, नवलपरासी बर्दघाट सुस्ता पूर्व र कास्की जिल्लाको पुनरावलोकन नतिजा प्रकाशन गरिसकेको छ। अन्य बाँकी जिल्ला र तहहरूको नतिजा पनि क्रमशः सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ।
‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ का कारण गत वैशाख १८ गतेदेखि आयोग पदाधिकारीविहीन बनेको थियो। तर, गत भदौ २५ गते नेपाल सरकारले डा. हरिप्रसाद लम्सालको अध्यक्षतामा नयाँ पदाधिकारी नियुक्त गरेसँगै रोकिएका कामहरू पुनः सञ्चालनमा आएका हुन्।
कात्तिक ११, २०८३ बुधबार १४:४६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।