मिठाईको मूल्य र उपभोग्य मिति अनिवार्य खुलाउन निर्देशन, पत्रिकामा प्याक गर्न रोक

मिठाईको मूल्य र उपभोग्य मिति अनिवार्य खुलाउन निर्देशन, पत्रिकामा प्याक गर्न रोक

काभ्रेपलाञ्चोक : चाडपर्व नजिकिएसँगै मिठाईको खपत र गुणस्तरलाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका मिठाई पसलहरूमा कडाइ गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेलले मिठाई बनाउन प्रयोग गरिएका कच्चा पदार्थ, तेल वा घिउको विवरण, उपभोग्य मिति (म्याद) र बिक्री मूल्य ग्राहकले स्पष्ट देख्ने गरी सोकेसमा राख्न व्यवसायीहरूलाई निर्देशन दिएको हो।

जिल्ला सदरमुकाम धुलिखेल र प्रमुख व्यापारिक केन्द्र बनेपाका मिठाई पसलहरूको स्थलगत अनुगमनपछि कार्यालयले यस्तो कडा निर्देशन जारी गरेको हो।

कार्यालय प्रमुख मनिषा चापागाईँका अनुसार अब व्यवसायीले मिठाईको सोकेस वा काउन्टरमै उत्पादन गर्दा प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, कुन तेल वा घिउ प्रयोग गरिएको हो सोको विवरण, खान योग्य मिति र मूल्यसूची ग्राहकले सहजै देख्ने गरी टाँस्नुपर्नेछ।

“चाडपर्वको मौका पारेर उपभोक्ता ठगिने र अखाद्य वस्तु उपभोग गर्न बाध्य हुने जोखिम रहन्छ,” प्रमुख चापागाईँले भने, “उपभोक्ताले आफूले किन्ने मिठाईको गुणस्तर, प्रयोग भएका सामग्री र मूल्यबारे स्पष्ट जानकारी पाएर मात्र खरिद गर्न पाऊन् भन्ने हाम्रो उद्देश्य हो।”

अखबारमा प्याक गर्न र एउटै तेल दोहोर्याउन रोक
अनुगमनका क्रममा कार्यालयले खाद्य स्वच्छतासम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गर्न व्यवसायीलाई सचेत गराएको छ।

विशेषगरी मिठाईमा अखाद्य वा सिन्थेटिक खाद्य रङ मिसाउन अनि मसीयुक्त छापिएका कागज वा पत्रपत्रिका प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

यसका अलावा स्वास्थ्यका लागि हानिकारक हुने गरी मिठाई तार्न एउटै तेल पटक–पटक दोहोर्याएर प्रयोग गर्न नपाइने अधिकारीहरूले जनाएका छन्।

कार्यालयले मिठाई व्यवसायीहरूलाई भर्खरै कार्यान्वयनमा आएको ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को पूर्ण पालना गर्न निर्देशन दिँदै मापदण्ड विपरीत अखाद्य सामग्री बिक्री गरेको पाइए कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

तिहार तथा छठ पर्वका बेला अन्य समयको तुलनामा मिठाईको माग र खपत अत्यधिक हुने गर्दछ।

कात्तिक १३, २०८३ शुक्रबार ०७:३३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।