सर्वोच्च र प्रहरी हेडक्वाटरमा इनम प्रभाव, आइजिपीको पाँच घण्टा छलफल, शुक्रवार फूल कोर्ट

सर्वोच्च र प्रहरी हेडक्वाटरमा इनम प्रभाव, आइजिपीको पाँच घण्टा छलफल, शुक्रवार फूल कोर्ट

काठमाडौं : सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका इनम सापकोटाको सम्बन्ध न्याय र सुरक्षा क्षेत्रका उच्चपदस्थ पदाधिकारीहरूसँग रहेको सार्वजनिक भएसँगै दुवै निकायका प्रमुखहरू आन्तरिक छलफलमा जुटेका छन्।

इनमसँग आफ्नो सम्पर्क रहेको सार्वजनिक भएसँगै सरकार एक्सनमा जाने तयारीमा जुटेको सूचनापछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीको नीतिबारे छलफल हुने सबैभन्दा उपल्लो निकाय पोलिसी को-अर्डिनेशन कमिटीको बैठक राखेर पाँच घण्टा लामो छलफल गरे।

बैठकमा प्रधानमन्त्रीको टिमबाट प्रहरी महानिरीक्षकको राजीनामा मागेको विषयसँगै संगठनका उच्चपदस्थ प्रहरी अधिकारीको गतिविधिबारे समेत छलफल भएको जानकारस्रोतले बतायो। बैठकमा आइजिपी कार्कीले व्यक्तिगत स्वार्थमा केही अधिकृतहरू संगठनलाई कमजोर बनाउन सक्रिय भएको आरोप लगाएका थिए।

बैठकमा प्रहरी सङ्गठनबारे प्रधानमन्त्रीको समय लिएर समूहगत रूपमै भेट्ने विषयमा समेत छलफल भए पनि त्यसबारे कुनै निर्णय भएन। प्रहरी प्रवक्ता मार्फत प्रहरी महानिरीक्षकबारे आइरहेको विषयमा धारणा सार्वजनिक गर्ने सहमति अनुसार विज्ञप्ति जारी गरियो।

विज्ञप्तिमा प्रहरी महानिरीक्षकको राजीनामा मागिएको लगायतका विषय भ्रामक भएको दाबी गरिएको छ। तर सोही विज्ञप्तिमा प्रहरी महानिरिक्षकबारेको विषयलाई सरकारसँग लगेर जोडेर यसलाई राजनीतिक रंग दिने प्रयास समेत गरिएको छ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल र इनमबीच ह्वाट्सएपमा भएको कुराकानी सार्वजनिक भएको थियो। दिउस प्रधानन्यायाधीश मनोज शर्मा र रास्वपाका सांसद विश्वराज पोखरेलको नामसहितको रकमबारेको ह्वाट्सएप मेसेज सार्वजनिक भयो।

त्यसपछि प्रधानन्यायाधीश शर्मा र सांसद विश्वराज दुवैले विज्ञप्तिबाट सो सन्देश भ्रामक रहेको र इनमसँग आफ्नो सम्पर्क नभएको दाबी गरे। तर सार्वजनिक भएको सामग्रीमा प्रहरीको छाप छ। बिहीबार प्रधानन्यायाधीश शर्माले आफ्नै नाममा विज्ञप्ति निकालेर यसबारे विस्तृत छलफल गर्न शुक्रवार फूल कोर्टको बैठक बोलाएका छन्।

कात्तिक १२, २०८३ बिहीबार २२:४२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।