जोगबुढा नदीको पानी सौर्य लिफ्टबाट खेतमा, वर्षौँदेखिको सिँचाइ समस्याबाट मुक्त भए दोधारा-चाँदनीका किसान

जोगबुढा नदीको पानी सौर्य लिफ्टबाट खेतमा, वर्षौँदेखिको सिँचाइ समस्याबाट मुक्त भए दोधारा-चाँदनीका किसान

कञ्चनपुर : कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका–७ स्थित कञ्जभोजका किसानहरू वर्षौँदेखिको सिँचाइ समस्याबाट राहत पाएका छन्। जोगबुढा नदीको पानी सौर्य लिफ्ट सिँचाइ प्रविधिमार्फत खेतसम्म पुगेपछि यहाँका किसानहरू हर्षित बनेका छन्।

महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयले आठ करोड ९ लाखको लागतमा निर्माण गरेको यो आयोजनाबाट दोधारा-चाँदनीको दुई सय हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका प्रमुख गणेश मरासिनीले जानकारी दिए। २०७९ मङ्सिरमा ठेक्का सम्झौता भई निर्माण सम्पन्न भएको यस आयोजनाले स्थानीय कृषि उत्पादकत्व बढाउन मद्दत पुर्याउनेछ।

सिँचाइको पहुँच पुगेपछि स्थानीय देवीसरा सुनार र ललितसिंह ठकुरीले खुसी व्यक्त गर्दै अब तरकारी तथा अन्य खेतीपाती गर्न धेरै सहज भएको बताए। विगतमा सिँचाइ सुविधा नहुँदा यहाँका किसानहरूले प्रति घण्टा रु दुई सय तिरेर पानी तान्ने मोटर प्रयोग गरी सिँचाइ गर्न बाध्य थिए।

महाकाली नदीबाट सिँचाइ सुविधा पुर्याउन सम्भव नभएपछि महाकाली सिँचाइ तेस्रो चरण आयोजनाले यहाँ सौर्य लिफ्ट सिँचाइ मार्फत खेतमा पानी उपलब्ध गराएको हो । 

५६.८५ वर्गकिलोमिटर क्षेत्रफल रहेको दोधारा–चाँदनीमा तीन हजार ६ सय हेक्टरमा खेती हुँदै आएको छ। खेतीका लागि उपयुक्त माटो रहेको यस क्षेत्रमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा पर्दै आएका थिए।

महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाले महाकाली सिँचाइ मुल नहर निमार्ण बाहेक लिफ्ट सिँचाइ र वोरिङबाट समेत किसानका लागि  सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ। 

कात्तिक १२, २०८३ बिहीबार २०:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।