नेपालतर्फ सोझियो ‘अर्नब’ चक्रवात, यी २३ जिल्ला ‘रेड जोन’मा

नेपालतर्फ सोझियो ‘अर्नब’ चक्रवात, यी २३ जिल्ला ‘रेड जोन’मा

काठमाडौं : बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको दोहोरो प्रभावका कारण आगामी बिहीबारदेखि शनिबारसम्म नेपालभर ठूलो वर्षा र हिमाली भेगमा भारी हिमपात हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखा र मौसमविद्हरूले कात्तिक १२ गते बिहीबार साँझदेखि कात्तिक १४ गते शनिबारसम्मको करिब ३६ घण्टा विशेष सतर्कता अपनाउन देशव्यापी चेतावनी जारी गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार, हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ भने बिहीबारदेखि ‘अर्नब’ चक्रवातको ओसिलो हावा मिसिएपछि यो प्रणाली झन् शक्तिशाली बन्नेछ।

यसको प्रत्यक्ष प्रभाव विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा तीव्र रूपमा पर्ने देखिएको छ।

कसरी बन्दैछ भारी वर्षाको प्रणाली?
मौसमविद् विनोद पोखरेलका अनुसार ‘अर्नब’ चक्रवात भारतको जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै जाने भए पनि नेपालमा यसको ओसिलो वायु र माथिल्लो वायुमण्डलको पश्चिमी न्यून चापीय रेखाबीच भेट हुनेछ। यही भेटका कारण नेपालका अधिकांश भागमा मुसलधारे वर्षाको सम्भावना बनेको हो।

विशेषगरी बिहीबार साँझदेखि शनिबार बिहानसम्मको समय अत्यन्तै संवेदनशील हुने बताइएको छ। मौसम मोडेलहरूका आधारमा तयार पारिएको प्रक्षेपणअनुसार देशभर औसत १३२ मिलिमिटरसम्म वर्षा हुन सक्नेछ।

मौसमविद् पोखरेलको जोखिम नक्सांकन अनुसार देशका २३ जिल्ला अत्यधिक उच्च जोखिम र २८ जिल्ला उच्च जोखिम को सूचीमा छन्।

सबैभन्दा धेरै वर्षाको सम्भावना रहेका प्रमुख जिल्लाहरूमा पूर्वी नवलपरासी (२८९ मिमि), पश्चिम नवलपरासी (२७५ मिमि), सर्लाही (२७२ मिमि), गोरखा (२३१ मिमि), कपिलवस्तु (२२२ मिमि),  भोजपुर (२२० मिमि), सुनसरी (२१८ मिमि) र गुल्मी (२१४ मिमि) रहेका छन्।

दिनअनुसार मौसमको फेरबदल र पूर्वानुमान
कात्तिक ११ गते बुधबार देशभर बादल लाग्ने क्रम बढ्नेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात सुरु हुनेछ। राति कोशी र बागमतीका पहाडी भू-भाग तथा मधेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कात्तिक १२ गते बिहीबार दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली भेगमा हिमपात र पहाडी/तराईका केही स्थानमा वर्षा हुनेछ। रातिदेखि प्रणाली तीव्र बन्नेछ; कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भेगका १-२ स्थानमा भारी वर्षा/हिमपात हुनेछ भने लुम्बिनीका केही भागमा पनि भारी वर्षा हुनेछ।

कात्तिक १३ गते शुक्रबार देशभर अधिकांश बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। यी प्रदेशका थोरै स्थानमा भारी वर्षा र १–२ स्थानमा धेरै भारी वर्षा/हिमपात हुने चेतावनी छ।

कात्तिक १४ गते शनिबार यो दिन पनि कोशीदेखि लुम्बिनीसम्मका धेरै स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ। उच्च हिमाली भेगमा हिमपात निरन्तर रहनेछ।

किसान, पर्यटक र सडक/हवाई यातायातलाई विशेष चेतावनी
नेपाल मौसम विज्ञान विभाग र मौसमविद्हरूले सम्भावित जोखिम न्यूनीकरणका लागि निम्न क्षेत्रलाई तत्काल पूर्वतयारी गर्न आग्रह गरेका छन्।

कात्तिक महिना धान काट्ने र भित्र्याउने मुख्य समय हो। बिहीबार साँझदेखि लगातार भारी वर्षा हुने भएकाले पाकिसकेको धान बिहीबार दिउँसो अगावै काटेर सुरक्षित ठाउँमा थन्क्याउन किसानहरूलाई आग्रह गरिएको छ। नकाटिएको वा खेतमै सुकाउन राखिएको धान पानीले सखाप पार्ने उच्च जोखिम छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम उच्च रहेकाले पर्यटक र पदयात्रीहरूलाई उच्च हिमाली भेगमा नजान अनुरोध गरिएको छ। यात्रामा निस्किसकेका पर्यटकहरूलाई तुरुन्त सुरक्षित आश्रयस्थलमा बस्न भनिएको छ।

लगातारको वर्षाका कारण पहाडी सडकहरूमा पहिरो जाने र तराईका भू-भागमा डुबान हुनसक्ने सम्भावना छ। त्यस्तै, भिजिबिलिटी कमजोर हुँदा हवाई उडानहरू रद्द वा ढिलाइ हुन सक्ने भएकाले यात्रा गर्नुअघि मौसमको ताजा विवरण लिन सुझाइएको छ।

मौसम पूर्वानुमान महाशाखा तथा विपद् व्यवस्थापन प्राधिकरणले तीनवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) र स्थानीय प्रशासनलाई उच्च सतर्कतामा रहन निर्देशन दिएका छन्।

कात्तिक ११, २०८३ बुधबार ०७:५२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।