आईजीपीको राजीनामाबारे समाचार भ्रामक रहेको प्रहरीको दाबी, कारबाहीको चेतावनी
काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि ‘राजीनामाको दबाब बढेको’ भन्ने विषयमा नेपाल प्रहरी प्रधान कार्यालयले प्रस्टीकरण दिएको छ। प्रहरी महानिरीक्षकको सचिवालयका तर्फबाट बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा आईजीपी कार्कीबारे केही सञ्चारमाध्यम प्रकाशित र सामाजिक सञ्जालमा प्रसारित सामग्री अपुष्ट, भ्रामक र तथ्यहीन भएको जनाएको हो।
सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने नियतले नियोजित रूपमा भ्रम फैलाउनेहरूमाथि प्रचलित कानुनबमोजिम अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ। पुष्टि नभएका विषयलाई अनुमानका भरमा समाचार र टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम र नकारात्मकता सिर्जना हुने उल्लेख छ।
अपुष्ट र तथ्यहीन सामाग्री प्रसारण हुँदा सुरक्षा जोखिम निम्त्याउनुका साथै नागरिकको सेवामा सदैव समर्पित संस्थाप्रतिको विश्वास, सांगठनिक छवि र निष्ठामा असर पुग्ने भन्दै प्रहरीले स्वार्थ केन्द्रित सूचनाको पछि नलाग्न आग्रह गरेको छ। सत्य, तथ्यपरक तथा विश्वसनीय सूचना पाउनु नागरिकको मौलिक अधिकार भएको स्मरण गराउँदै प्रहरीले प्रमाणित र आधिकारिक सूचनामा मात्र विश्वास गर्न अपिल गरेको छ।
विज्ञप्तिमा नेपाल प्रहरी कुनै पनि भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संविधान र कानुनले सुम्पेको जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको उल्लेख छ। साथै, यस्ता स्वार्थ केन्द्रित टिप्पणीबाट विचलित नभई उच्च मनोबलका साथ एकताबद्ध भएर कार्यक्षेत्रमा खटिन सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिइएको छ।
कात्तिक १२, २०८३ बिहीबार २२:२०:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।