चक्रवात ‘अर्नब’ले निम्त्याउँदै छ भारी वर्षा र हिमपात, हिमाली यात्रा तत्काल रोक्न चेतावनी

चक्रवात ‘अर्नब’ले निम्त्याउँदै छ भारी वर्षा र हिमपात, हिमाली यात्रा तत्काल रोक्न चेतावनी

काठमाडौं : बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको दोहोरो प्रभावका कारण आज र भोलि देशैभरको मौसम प्रतिकूल बन्ने भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा मध्यमदेखि भारी वर्षा र उच्च भूभागमा हिमपातको चेतावनी जारी गरेको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती र मधेस प्रदेशका विभिन्न भागमा रातभरिदेखि नै हल्का वर्षा भइरहेको छ भने मध्यरातपछि गण्डकी र लुम्बिनीका पूर्वी भेगमा पनि वर्षा सुरु भइसकेको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार कोशीदेखि बागमतीसम्म रातभर एकनासको पानी परेको छ र आज दिनभर पनि झरी पर्ने सम्भावना छ।

“आज अपराह्न वा साँझदेखि नेपालको पूर्वी आधा भागमा भारी वर्षाको सम्भावना उच्च छ,” मौसमविद् पोखरेलले भने, “विशेषगरी आज राति ठूलो पानी पर्न सक्ने देखिएकाले सतर्कता र पूर्वतयारी बढाउन आवश्यक छ।”

महाशाखाले आज दिउँसो र राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ। यी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षासँगै हिमपात हुनसक्नेछ।

साथै मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा तीव्र गतिको हुरी चल्ने आकलन गरिएको छ।

वर्षा र हुरीबतासका कारण पाकेको धानबालीमा ठूलो क्षति पुग्न सक्ने भएकाले महाशाखाले आज र भोलि धान काट्ने तथा भित्र्याउने लगायतका कृषि कार्य तत्कालका लागि स्थगित गर्न किसानहरूलाई विशेष अनुरोध गरेको छ।

उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपातसँगै हिमआँधी र हिमपहिरोको जोखिम बढेको छ। महाशाखाले पदयात्री तथा पर्यटकहरूलाई उच्च हिमाली क्षेत्रतर्फको यात्रा नगर्न र पदयात्रामा निस्किसकेकाहरूलाई मौसममा सुधार नआएसम्म सुरक्षित आश्रयस्थलमै रहन कडा निर्देशन दिएको छ।

लगातारको वर्षासँगै चिसो ह्वात्तै बढ्ने, सडक छेउछाउ र भिरालो जमिनमा पहिरो खस्ने जोखिम रहेको छ।

यसबाट सडक तथा हवाई यातायात र सर्वसाधारणको दैनिक जनजीवन प्रभावित हुन सक्ने भन्दै महाशाखाले जोखिमयुक्त क्षेत्रका बासिन्दा तथा सम्बद्ध विपद् व्यवस्थापन निकायहरूलाई उच्च सतर्कता र पूर्वतयारीमा रहन आग्रह गरेको छ।

कात्तिक १३, २०८३ शुक्रबार ०७:२०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।