विराटनगरले दिएको १८७ रनको लक्ष्य पछ्याउँदै कर्णालीको रोमाञ्चक जित

विराटनगरले दिएको १८७ रनको लक्ष्य पछ्याउँदै कर्णालीको रोमाञ्चक जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार भएको रोमाञ्चक खेलमा कप्तान सोमपाल कामीको उत्कृष्ट प्रदर्शनको मद्दतमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई ४ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको आजको दोस्रो खेलमा विराटनगरले दिएको १८७ रनको विशाल लक्ष्य पच्छाएको कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। प्रतियोगितामा कर्णालीको यो दोस्रो जित हो भने विराटनगरको दोस्रो हार हो।

कर्णालीको जितमा कप्तान सोमपाल कामीले अविजित ६२ रनको योगदान दिए। उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे। त्यस्तै पवन शर्राफले ३६,अरिफुल इस्लमकले ३२, गुल्सन झाले २८ तथा दीपक डुम्रेले २० रन बनाए। 

बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युजले तीन विकेट लिए। त्यस्तै सन्दीप लामिछाने र प्रतिश जिसीले समान एक एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको कर्णालीविरुद्ध विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८६ रनको योगफल बनाएको थियो। विराटनगरका लागि लोकश बमले सर्वाधिक ८७ रनको योगदान दिए। उनले ५२ बलमा तीन चौका र नौ छक्का प्रहार गर्दै ८७ रनको योगदान गरेका हुन्।

यसैगरी आन्द्रे रसेलले १५ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै २७ रन जोडे भने एन्जेलो म्याथ्युजले २३ बलमा चार चौकाको सहायताले ३१ रन बनाए। बासिर अहमदले सात बलमा १३ रन बनाए। शेहान जयसूर्याले ११ रनको योगदान दिए।

बलिङतर्फ कर्णाली याक्सका कप्तान सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए। मार्क वाट र नन्दन यादवले समान एक/एक विकेट लिएका थिए। 

कात्तिक १२, २०८३ बिहीबार २१:४४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।