पोटरी स्क्वायरमा तिहार उज्यालो बनाउने पालाको बिस्कुन

पोटरी स्क्वायरमा तिहार उज्यालो बनाउने पालाको बिस्कुन

काठमाडौं : तिहार नजिकिएसँगै भक्तपुरको ऐतिहासिक बोलाछेंस्थित ‘पोटरी स्क्वायर’को दृश्य फेरिएको छ। यहाँका प्रजापति समुदायका अधिकांश परिवारको दिनचर्या अहिले बिहानको मिर्मिरेदेखि साँझसम्म कालो माटो, घुमिरहेको चाक (चक्र) र घामको तापसँगै बितिरहेको छ।

बजारमा झिलिमिली विद्युतीय बत्तीको बाढी नै लागे पनि तिहारमा परम्परागत माटोको दियो (पाला) को महत्त्व र आकर्षण घटेको छैन।

तिहार विशेषगरी उज्यालो र सौन्दर्यको पर्व हो। त्यसमा पनि लक्ष्मीपूजाको रात घरको दैलो, झ्याल, ढोका र कौसीमा शुद्ध तेल वा घिउ हालेर माटोको दियो बाल्ने मौलिक परम्परा छ। यही परम्परालाई उज्यालो बनाउन अहिले भक्तपुरका माटो शिल्पीहरूलाई भ्याइनभ्याइ छ।

पोटरी स्क्वायरका अधिकांश परिवार अहिले तिहारमा प्रयोग हुने सामग्री तयार पार्न तल्लीन छन्। उनीहरूले अन्य माटाका भाँडा बनाउने कामलाई अहिले थाती राखेका छन्। बिहान सबेरै उठेर कालो माटो मुछ्ने, चक्रमा राखेर पाला, धूपौरो, घैँटो र खुत्रुके बनाउने काम तीव्र गतिमा भइरहेको छ।

चोकका खुला ठाउँहरूमा अहिले पालाको बिस्कुन जस्तै देख्न सकिन्छ। पाला बनाउने काम आकार दिनुमा मात्र सीमित छैन; यसका पछाडि उत्तिकै मिहिनेत जोडिएको छ। घाममा सुकेका काँचो पालालाई आकर्षक र बलियो बनाउन रातो माटोको झोलमा डुबाएर पुनः सुकाइन्छ र त्यसपछि मात्र पोल्ने गरिन्छ। यसरी तयार भएका पाला बजारको माग अनुसार विभिन्न ठाउँमा पठाउने गरिन्छ।

विद्युतीय बत्तीको सहजता भए पनि मौलिकता खोज्ने उपभोक्ताका कारण पालाको माग बर्सेनि बढ्दो छ। स्थानीय विनोदकुमार प्रजापति भन्छन्, “तिहार नजिकिँदै जाँदा माटोका पालाको माग धेरै छ, तर मागअनुसार सामान पुर्याउनै गाह्रो भइरहेको छ।”

विनोदकुमारका अनुसार अघिल्लो वर्ष उनले मात्रै करिब २० हजार थान पाला बिक्री गरेका थिए। यस पटक त्योभन्दा बढी माग रहेको उनी सुनाउँछन्।

उत्पादित पाला अहिले थोक व्यापारीलाई प्रतिगोटा २ रुपैयाँदेखि २ रुपैयाँ ५० पैसासम्म र खुद्रा रूपमा ३ देखि ३ रुपैयाँ ५० पैसामा बिक्री भइरहेको छ। विनोदकुमारका अनुसार आगामी साता भने पालाको खुद्रा मूल्य प्रतिगोटा ५ रुपैयाँसम्म पुग्नेछ।

पाला बनाउने यो चटारो पोटरी स्क्वायरमा मात्र सीमित छैन। भक्तपुरका थिमी, लिवाली, सूर्यमढी, च्याम्हासिंह र सूर्यविनायकका प्रजापति बस्तीहरूमा पनि यतिबेला यस्तै व्यस्तता देखिन्छ। 

पुर्ख्यौली पेसा अँगालेका यी शिल्पीहरूका लागि तिहार केवल एउटा चाड मात्र नभई आम्दानीको अवसर पनि हो। आधुनिकताको तीव्र बहावबीच पनि नेपाली मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्न उनीहरूले अहम् भूमिका खेलिरहेका छन्।

 

 

कात्तिक १२, २०८३ बिहीबार १९:३०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।