पार्टीका कमजोरी सच्याउँदै देशको हितमा जुट्न शर्माको आग्रह

पार्टीका कमजोरी सच्याउँदै देशको हितमा जुट्न शर्माको आग्रह

ललितपुर : नेपाली कांग्रेसको जिम्मेवारी युवा पुस्ताको काँधमा आइपुगेको भन्दै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनका तीतामीठा अनुभव बिर्सेर ‘बलियो कांग्रेस र समृद्ध नेपाल’ निर्माणको अभियानमा जुट्नुपर्ने बताएका छन्।

कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरूको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणपश्चात् मन्तव्य राख्दै शर्माले पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए। 

कांग्रेसका साथै देशलाई बलियो बनाउनुपर्ने उनले बताए। “दौडिएर पसिना बगाउनु मात्रैलाई काम भन्न सकिँदैन, काम हुनका लागि परिवर्तन र उपलब्धि आवश्यक छ, हामी मिडियामैत्री र सामाजिक सञ्जालमैत्री पनि बन्न जरुरी छ,” शर्माले भने, “कांग्रेस देशलाई पहिलो केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने पार्टी हो।”

उनले पार्टीको संस्थागत कार्यशैली र सामाजिक रूपान्तरणलाई प्राथमिकता दिएर अबको समयलाई विसङ्गतिलाई अन्त्य गर्ने सामाजिक रूपान्तरणको दशकका रूपमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए। नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्दै उनले शपथ ग्रहणका क्रममा पद र प्रमाणपत्र प्राप्त गर्नुलाई मात्र जिम्मेवारी नठानी पार्टीको गौरवशाली इतिहासअनुसार वर्तमानलाई जिम्मेवार तथा भविष्यलाई सुन्दर बनाउने सङ्कल्प गर्न आग्रह गरे। 

शर्माले महाधिवेशनमा विजयी भएका नेताहरूले आफूलाई मत दिने प्रतिनिधिको विश्वासको सम्मान गर्नुपर्ने र पराजित उम्मेदवार तथा निर्वाचनमा सहभागी हुन नपाएका पार्टीका अन्य नेता-कार्यकर्तालाई पनि समेटेर अघि बढ्नुपर्ने धारणा राखे।

“निर्वाचनमा भएका तीतामीठा अनुभव बिर्सेर कांग्रेसलाई एकताबद्ध र सशक्त बनाउनु नयाँ नेतृत्वको साझा दायित्व हो, जलवायु परिवर्तनको असरविरुद्ध क्रियाशील हुन सरकारको साथमा रहेर काम गर्नुपर्ने छ,” उनले भने।

शर्माले पार्टीको कामलाई प्रभावकारी बनाउन व्यक्तिगत रूपमा धेरै दौडधुप गर्नुभन्दा संस्थागत योजना र समन्वयअनुसार अघि बढ्नुपर्नेमा जोड दिए। केन्द्रले तय गरेका योजना र निर्देशनलाई आत्मसात् गरेर सङ्गठनका कमजोरी सुधार गर्ने तथा आगामी चुनौतीको सामना गर्ने गरी काम गर्नुपर्ने भन्दै उनले देश र नागरिकको हितलाई पार्टीगत स्वार्थभन्दा माथि राख्नुपर्ने बताए। 

जलवायु परिवर्तनका कारण उत्पन्न विपद् तथा नागरिकले भोगिरहेका सङ्कटप्रति सरकार र जनप्रतिनिधि गम्भीर हुनुपर्ने बताउँदै उनले विपद्बाट प्रभावित परिवारको पीडा स्मरण गर्दै जोखिम न्यूनीकरण, नागरिकको जीवनरक्षा तथा  जनजीविकामा सुधार ल्याउन विशेष ध्यान दिन आग्रह गरे। 

कांग्रेसप्रतिको समर्पणलाई देश र जनताको सेवासँग जोड्नुपर्ने उल्लेख गर्दै शर्माले पार्टीको जिम्मेवारी सम्हाल्ने सबैले इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए।

कात्तिक १२, २०८३ बिहीबार २०:००:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।