जाजरकोटको विद्यालयमा पुस्तकालय अनुदान हिनामिना : पूर्वप्रधानाध्यापकसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : जाजरकोटको कुशे गाउँपालिका-२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयमा आएको पुस्तकालय अनुदान रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
अख्तियारले रकम हिनामिना गरेको आरोपमा विद्यालय व्यवस्थापनका समितिका पदाधिकारी, पूर्वप्रधानाध्यापक र तत्कालीन लेखा सहायकविरुद्ध आरोपपत्र दायर गरेको हो।
आयोगले तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसी, पूर्वप्रधानाध्यापक धनबहादुर सिंह र लेखा सहायक धीरेन्द्रबहादुर सिंहविरुद्ध जनही १७ लाख ४१ हजार ४४६ तथा विद्यालय व्यवस्थापन समितिका सदस्य जनकबहादुर नेपालीविरुद्ध रु एक लाख बिगो माग गरेको छ।
उनीहरुले मिलेमतोमा सरकारी/सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्याउने बदनियतले कानुनविपरीत ऋण सापटी लिएको देखाइ १७ लाख ४१ हजार ४४६ हिनामिना गरेको आयोगले जनाएको छ। उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको आयोगको ठहर छ।
कात्तिक १२, २०८३ बिहीबार १७:३७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।