विराजलाई कति आपत! पहिले दर्शकलाई झुक्क्याए, अहिले दर्शकले झुकाइदिए!

विराजलाई कति आपत! पहिले दर्शकलाई झुक्क्याए, अहिले दर्शकले झुकाइदिए!

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा एक्सन स्टारका रूपमा स्थापित विराज भट्टका लागि बक्सअफिसको उतारचढाव नौलो विषय होइन। तर, दुई वर्षअघि ‘१२ गाउँ’मार्फत ‘बाघ’ बनेर गर्जिएका विराजलाई यस पटक बक्सअफिसको आंकडाले राम्रै झट्का दिएको छ।

समय सधैँ एकनास कहाँ रहन्छ र! ‘१२ गाउँ’ हेर्न मध्यरातसम्म टिकट नपाएर दर्शक हलको काउन्टर कुरिरहेका थिए। तर, ‘१२ गाउँ २’को अवस्था भने ठिक उल्टो देखिएको छ- यस पटक अभिनेता तथा निर्देशक विराज र डेब्यु स्टार छोरा समीर भट्ट हलमा दर्शक कुर्न बाध्य छन्। 

अघिल्लो पटकको अत्यधिक हाइपको ‘हिसाब-किताब’ दर्शकले यस पटक सिक्वेलमा चुक्ता गरेको भनेर सिने बजारमा गसिपको विषय बनेको छ। अघिल्लो पटक मध्यरातको शो हेर्न टिकट कुरेर दर्शकले निन्द्रा त्यागेका थिए, अहिले भने हलको सुस्त अवस्था देखेर स्वयं निर्देशककै निन्द्रा उडेको जस्तो देखिन्छ। 

दर्शकले पनि अनौठो शैलीमा पालोको पैँचो चुक्ता गरिदिएका छन्। अघिल्लो पटकको हिसाब बराबर गर्न दर्शकले सिक्वेलको चर्को माग गरेर निर्माण टिमलाई झुक्क्याए वा के थियो, त्यो उनैले जानून्; तर सोमबार सार्वजनिक बक्सअफिस रिपोर्ट हेर्दा भने दर्शकले विराजलाई राम्रैसँग झुक्क्याए।

पहिलो फिल्मको सफलतामा हल भिजिट र आक्रामक प्रचारमा खासै नदौडिएका विराज अहिले भने निकै सक्रिय र दबाबमा देखिन्छन्। बक्सअफिसको सुस्त गति देखेपछि उनी आफैँ हल-हलमा पुगेर दर्शकसँग संवाद साट्न र आफ्नै डायलग सुनाउन व्यस्त छन्। 

सामाजिक सञ्जालमा प्रायः दूरी बनाएर बस्ने यी स्थापित अभिनेता अहिले दिनहुँ हल रिपोर्टका भिडियो पोस्ट गर्न बाध्य भएका छन्। नाम, स्थापित ब्रान्ड र स्टारडमको भरमा मात्र सिक्वेल चल्दैन; दर्शकलाई त नयाँपन र बलियो पटकथा नै चाहिन्छ भन्ने बक्सअफिसको यो ट्रेन्डले प्रमाणित गरेको छ। 

अब आगामी दिनमा केवल एक्सन र पुरानो स्टारडममा मात्र भर पर्ने कि कथावस्तुमा पनि उत्तिकै मिहिनेत गर्ने? यो विराज भट्टकै विवेकमा छाडिदिऔँ!

कात्तिक १०, २०८३ मंगलबार १७:५९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।