त्रिविको सम्पत्तिमा क्यानको कब्जा : न सम्झौता नविकरण न भाडा, पेलेरै एनपीएल आयोजना !
काठमाडौं : त्रिभुवन विश्वविद्यालय स्वामित्वमा रहेको कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल क्रिकेट संघ (क्यान)ले विश्वविद्यालयको स्वीकृति नलिई नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आयोजना गरेको खुलेको छ। त्रिवि क्रिकेट मैदान रहेको जग्गा त्रिभुवन विश्वविद्यालयको सम्पत्ति हो।
त्रिवि र क्यानबीच भएको २५ वर्षे जग्गा सम्झौता गत २०८३ वैशाख मसान्तमै सकिएको थियो। म्याद सकिए पनि नविकरण भएको छैन। अर्थात् अहिले जहाँ एनपिएल भइरहेको छ त्यो त्रिभुवन विश्वविद्यालयको एकल स्वामित्वको सम्पत्ति हो। तर उसको सम्पत्तिमा भइरहेको गतिविधिबारे विश्वविद्यालयलाई औपचारिक रुपमा कुनै जानकारी छैन।
त्रिविको सामान्य प्रशासन महाशाखा प्रमुख राजबहादुर राईका अनुसार मैदान भाडामा दिनेबारे क्यानसँगको सम्झौताको म्याद सकिइसकेको छ। नवीकरण भएको छैन। तर त्यही मैदानमा एनपिएलको तेस्रो संस्करण आयोजना भइरहेको छ। अनुमति नै नलिई आफ्नो स्वामित्वको क्षेत्रमा आर्थिक गतिविधि हुँदा विश्वविद्यालय प्रशासन पनि मौन देखिन्छ।
“२५ वर्षै सम्झौता सकियो। वैशाखमा सकिएको जेठबाट सम्झौता विपरीत काम भएको छ। शिक्षा मन्त्रालयमार्फत राष्ट्रिय खेलकुद परिसरबाट सम्झौता हुने भनेर शिक्षामन्त्री र हाम्रो पदाधिकारीबीच कुरा भएको थियो," उनले भने, "अहिलेसम्म जेठदेखि भाडा पनि तिरेको छैन। अहिले त एनपिएलका लागि हामीसँग स्वीकृति लिएका छैनन्।”
त्रिविसँग जग्गा सम्झौताबारे बुझ्न क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कासँग उकेराले बुझ्न प्रयास गरेको थियो। अध्यक्ष चन्दको मोबाइल स्वीच अफ छ भने सचिव खड्काको फोन उठेन।
सम्झौतामा के छ ?
त्रिवि र क्यानबीच २०५४ वैशाख २० र २०५९ वैशाख १ गते गरी दुई पटक द्विपक्षीय सम्झौता भए अनुसार विश्वविद्यालयको स्वामित्वमा रहेको कित्ता नम्बर ३२ को ७६-४-३-० रोपनी जग्गा भाडामा दिइएको थियो। सम्झौतामा सुरुका तीन वर्ष वार्षिक तीन लाख रुपैयाँ भाडा तिर्ने सहमति भएको थियो। त्यसपछि प्रत्येक पाँच वर्षमा भाडा वृद्धि गर्ने सम्झौतामा उल्लेख थियो। सुरुवाती तीन वर्ष वार्षिक तीन लाख बुझाएको क्यानले तेस्रो वर्षपछि भने वार्षिक नौ लाख रुपैयाँ त्रिविलाई भाडा तिर्दै आएको थियो।
मैदानका लागि आवश्यक भौतिक संरचना क्यान आफैँले बनाउनुपर्ने सम्झौता थियो। सोहीअनुसार मैदानमा सरकारको लगानीमा फ्लडलाइटलगायतका पूर्वाधारहरू निर्माण भए। सम्झौता सकियो। क्रिकेट हुँदा विश्वविद्यालय परिसरमा होहल्ला हुने र शैक्षिक वातावरण बिग्रिने भन्दै त्रिवि प्रशासनले सम्झौता थप गर्न चाहेन। अर्कातर्फ, क्यानले भने सरकारको प्राथमिकतामा त्रिवि मैदान रहेकाले सम्झौता थप हुनुपर्ने माग गर्दै आएको थियो।
यसैबीच २०८२ चैत १९ गते ‘त्रिभुवन विश्वविद्यालय क्रिकेट संघ’ले क्रिकेट मैदानको भाडा सम्झौता नमिलेको र विश्वविद्यालयको हितविपरीत रहेको जनाउँदै त्यसको पुनरावलोकनका लागि सात बुँदे मागसमेत राखेको थियो। सम्झौता अवधि सकिएपछि सो क्षेत्र स्वत विश्वविद्यालयको नियन्त्रणमा आउनु पर्ने हो। तर आएको छैन। क्यानले गैरकानुनी रुपमा विश्वविद्यालयको सम्पत्ति प्रयोग गरिरहेको छ।
कात्तिक १०, २०८३ मंगलबार १९:४५:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।