स्वास्थ्यको एक अर्बको टेन्डर छिटो गर्न स्वास्थ्य मन्त्री मेहताको ‘प्रेसर’, बायोमेडिकल इन्जिनियरको भेला गराएर स्पेशिफिकेशन बनाइयो
काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को विद्युतीय खरिद प्रणाली (इ-जीपी सिस्टम) बन्द रहेको बेलामा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीले निशा मेहताले स्वास्थ्य सेवा विभागबाट हुने करिब एक अर्बको टेन्डर छिटो अगाडि बढाउने ‘प्रेसर’ गरेको खुलेको छ।
प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विशेषगरी स्वास्थ्य मन्त्रीको टिमले विभागको खरिद प्रक्रिया छिटो अगाडि बढाउन दबाब दिइरहेको खुलेको हो। मन्त्रालयबाट पटक पटक खरिद प्रक्रिया छिटो अगाडि बढाउन दबाब आइरहेको स्रोतले बतायो।
हाल सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को विद्युतीय खरिद प्रणाली (इ-जीपी सिस्टम) भदौ ११ देखि बन्द छ। प्रणाली नखुली खरिद प्रक्रिया अगाडि बढाउँदा पारदर्शीतामा थप जोखिम हुने भए पनि मन्त्रीको सचिवालयबाट पटक पटक खरिद प्रक्रिया अगाडि बढाउन दबाब आएको हो।
विद्युतीय खरिद प्रणाली (इ-जीपी सिस्टम) मा अनधिकृत प्रवेश गरेर ठेक्काको रकमै संशोधन गरेर ठेक्का प्रभावित पार्ने गरेको खुलेपछि अहिले सो प्रणाली बन्द छ। सो प्रणालीमा छेडखानी गरेर भएको बदमासीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेर निर्माण ब्यवसायीहरुको दोषी देखाएको थियो। अहिले सो मुद्दा अदालतमा विचाराधीन छ।
बायोमेडिकलको टिम बोलाएर स्पेसिफिकेसन बनाइयो
यता स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले दशैंको मुखमा करिब एक अर्बमा खरिद गर्ने मेसिन, औजार तथा उपकरणको खरिद अगाडि बढाउन करिब २५ जना बायोमेडिकल इन्जिनियर तथा विज्ञलाई बोलाएर प्राविधिक स्पेशिफिकेशन बनाएको छ।
सहभागि २५ मध्ये करिब १३ जना बायोमेडिकल इन्जिनियर रहेको महाशाखाले जनाएको छ। तर, सबै प्रादेशिक आपूर्ति केन्द्रका इन्जिनियर आएका थिएनन्।
विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामा ५, १० र १५ बेडका आधारभूत अस्पतालमा युएसजी, एक्सरेलगायतका मेसिन, औजार तथा उपकरण र स्वास्थ्य खरिदका लागि करिब एक अर्ब बजेट छ।
त्यही बजेटको सामग्री खरिदका लागि महाशाखाले असोज २७ देखि २९ सम्म तीन दिन ‘स्पेशिफिकेशन तयारी सम्बन्धी कार्यशाला’ गरेर स्पेसिफिकेसन बनाएको हो।
सात वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर, केन्द्रीय तहका अधिकांश सरकारी अस्पताल, केही प्रादेशिक अस्पतालका बायोमेडिकल इन्जिनियर तथा विज्ञ र रोजियोलोजीसँग सम्बन्धित संघलाई बोलाएर स्पेसिफिकेसन बनाइएको हो।
स्रोतका अनुसार संघ अन्तर्गतका एक मात्रै स्थायी बायोमेडिकल इन्जिनियर सुरेश महर्जनले स्पेसिफिकेसन बनाउने टिमका लागि सहजीकरण गरेका थिए। उनी पटक पटक मिलेमतो खरिदमा जोडिने गरेका बायोमेडिकल इन्जिनियर हुन्।
बायोमेडिकल इन्जिनियर तथा विज्ञको टिमले स्पेसिफिकेसन तयार बनाएर महाशाखालाई दिएको छ। स्पेसिफिकेसनलाई अन्तिम रूप दिएर खरिदका लागि टेन्डर प्रक्रिया अगाडि बढाइने व्यवस्थापन महाशाखाले जनाएको छ।
धेरै जना बायोमेडिकल इन्जिनियर तथा विज्ञको टिमले स्पेसिफिकेसन बनाउँदा खरिद प्रतिस्पर्धा सीमित नहोस्, स्पेसिफिकेसन लक्ड नहोस्, खरिदको पारदर्शितामा समस्या नहोस् र खरिद भएपछि सामग्री उपयोगि होस् भन्ने उद्देश्यले धेरै बायोमेडिकल तथा विज्ञको टिम सहभागी गराएर स्पेसिफिकेसन बनाउने गरेको विभागका निमित्त निर्देशक डा. कृष्ण प्रसाद पौडेलले बताए।
यो खरिदमा खरिदमा विभागका महानिर्देशक (निमित्त), व्यवस्थापन महाशाखा प्रमुख र खरिद शाखा प्रमुख निर्णायक हुन्छन्।
विभागको खरिदमा बदनामी
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दरबन्दी विपरीत फरेन्सिक मेडिसिन विशेषज्ञ ११औँ तहका चिकित्सक वीरेन्द्र मण्डललाई विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको जिम्मेवारी दिएकी छन्।
मन्त्री मेहताले त्यसअघि नै व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा (खरिद शाखा)मा यस अगाडि नै मिलेमतोमा हुने खरिदमा बदनाम भएका दया पन्तको सरुवा गरेकी थिइन्। पन्त हाल सो शाखामा नै कार्यरत छन्। उनलाई तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले खरिद शाखामा लगेका थिए। उनको कार्यकालमा भएका अधिकांश खरिदमा मिलेमतो देखिएको थियो।
अहिले विभाग अन्तर्गत खरिदमा एक अर्बको बजेट छ। खरिद पारदर्शी बनाउने कि पहिले जस्तै मिलेमतोमा अगाडि बढाउने भन्ने निर्णायक विभागका निमित्त महानिर्देशक डा. पौडेल, महाशाखाका निर्देशक डा. मण्डल र खरिद शाखा प्रमुख उनै पन्त नै हुनेछन्।
कात्तिक १०, २०८३ मंगलबार २१:४५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।