जनकपुर बोल्ट्सलाई काठमाडौं गोर्खाजले दियो ११६ रनको लक्ष्य
काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्ससामु एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय १५ रन बनायो। काठमाडौंका लागि भीम सार्कीले २९ बल खेल्ने क्रममा ४ चौकासहित सर्वाधिक ३३ रन जोडे।
यस्तै, राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए। बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
बलिङतर्फ जनकपुरका लागि राहुल यादवले चार ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिए। यस्तै, सैफ हसनले दुई तथा कप्तान हरमित सिंह, ललितनारायण राजवंशी र मोइन अलीले एक एक विकेट लिए।
जारी प्रतियोगितामा जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो। यस्तै काठमाडौं आफ्नो पहिलो खेल खेलिरहेको छ। एक सय १६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जनकपुरले १५ ओभरमा दुई विकेट गुमाएर ९० रन बनाएको छ।
प्रतियोगिताअन्तर्गत आजै अर्को खेल विराटनगर किङ्स र कर्णाली याक्सबीच अपरान्ह ५ बजे सुरु हुनेछ। आगामी मङ्सिर ५ गतेसम्म जारी रहने यस प्रतियोगितामा आठ टोली सहभागी छन्।
कात्तिक १२, २०८३ बिहीबार १५:४५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।