एनपीएलमा १६ वर्षीय राहुल यादव, लगातार दोस्रो खेलमा पनि पहिलो बलमै विकेट

एनपीएलमा १६ वर्षीय राहुल यादव, लगातार दोस्रो खेलमा पनि पहिलो बलमै विकेट

काठमाडौं : कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार काठमाडौं गोर्खाजविरुद्धको खेलमा बलिङ गर्न आएका १६ वर्षीय राहुल यादवले लगातार दोस्रो खेलमा पनि स्पेलको पहिलो बलमै विकेट लिएका छन्।

काठमाडौं गोर्खाजविरुद्ध टस हारेर फिल्डिङमा उत्रिएका जनकपुरका लागि कप्तान हरमीत सिंहले दोस्रो ओभरमै युवा बलरको हातमा नयाँ बल थमाए।

ओभरको पहिलो बलमै (१.१ ओभर) उनले काठमाडौंका अस्ट्रेलियन विदेशी खेलाडी साम हिजलेटलाई १ रनमै मोइन अलीको हातबाट क्याच आउट गराए।

यति मात्र होइन, पावरप्लेको अन्तिम अर्थात् खेलको छैटौं ओभर बलिङ गर्न आएका उनले सो ओभरको पनि पहिलो बलमै (५.१ ओभर) क्रिजमा जम्न खोजेका स्मित पटेल (१३ रन) लाई कप्तान हरमीत सिंहको हातबाट क्याच आउट गराए।

उनले पावरप्लेका आफ्ना सुरुवाती २ ओभरमा मात्र १२ रन खर्चेर २ महत्त्वपूर्ण विदेशी तथा अनुभवी ब्याटरलाई पेभेलियन फर्काउँदै काठमाडौंको शीर्ष क्रम ध्वस्त पारे।

डुम्रेलाई पनि पहिलो बलमै गरेका थिए बोल्ड
राहुलले व्यावसायिक क्रिकेटमा आफ्नो स्पेलको पहिलो बलमै विकेट लिएको यो पहिलो पटक भने होइन। गत मंगलबार (कात्तिक १०) कर्णाली याक्सविरुद्ध एनपीएलमा डेब्यु गर्दा पनि उनले यस्तै दुर्लभ कीर्तिमान बनाएका थिए।

व्यावसायिक क्रिकेटको पहिलो खेल खेल्दै गरेका राहुललाई कप्तानले तेस्रो ओभरमा बलिङ दिएका थिए। सो खेलमा क्रिजमा लगातार दुई छक्का प्रहार गरेर आक्रामक बनिसकेका कर्णालीका ब्याटर दीपक डुम्रे थिए।

तर, राहुलले आफ्नो सिनियर करियरको पहिलो बलमै (२.१ ओभर) डुम्रेलाई बोल्ड गर्दै स्तब्ध पारेका थिए। त्यस खेलमा उनले पाकिस्तानका अनुभवी खेलाडी हुसेन तलातलाई समेत आउट गर्दै ४ ओभरमा मात्र १५ रन खर्चेर २ विकेट लिएका थिए।

लगातार दुई खेलमा आफूले हातमा बल लिनासाथ पहिलो बलमै विकेट दिलाएर राहुलले विपक्षी ब्याट्सम्यानहरूमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्न आफू माहिर रहेको प्रमाणित गरेका छन्।

रौतहटको गल्लीदेखि त्रिवि मैदानसम्म
केही हप्ताअघिसम्म रौतहटका खुला मैदान र ‘चन्द्रपुर क्रिकेट लिग’मा सीमित रहेका यी किशोर ट्यालेन्ट हन्टबाट जनकपुर बोल्ट्समा आएका हुन्।

ट्रायलमा देखाएको उत्कृष्ट सीप, अनुशासन र भोकका आधारमा राहुललाई तेस्रो सिजनका लागि आफ्नो ‘आइकनिक प्लेयर’ घोषणा गरेको थियो। मोइन अली र जिमी निसमजस्ता विश्व क्रिकेटका हस्तीहरूसँग ड्रेसिङ रुम साटिरहेका छन्।

उमेरले भर्खर १६ वर्ष टेकेका राहुल यादव जारी एनपीएलमार्फत नेपाली क्रिकेटले भेट्टाएको सबैभन्दा चम्किलो र सनसनीपूर्ण प्रतिभाका रूपमा स्थापित भइरहेका छन्।

कात्तिक १२, २०८३ बिहीबार १३:३१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।