टोलीले वार्मअप गरिरहँदा किन छेउमै रोकिए पूर्वकप्तान अनिल साह?
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाजविरुद्धको खेलअघि जनकपुर बोल्ट्सका खेलाडीहरू मैदानमा वार्मअपमा व्यस्त थिए।
तर, टोलीका पूर्वकप्तान तथा ब्याटर अनिल साह भने साथीहरूसँग मैदानमा वार्मअप गरिरहेका थिएनन्। उनी हुडी र क्याप लगाएर मैदानको छेउमा टिमका प्रशिक्षक तथा अफिसियलहरूसँग गम्भीर कुराकानीमा व्यस्त देखिए।
पछिल्लो समय अनिलको व्यक्तिगत प्रदर्शन निकै कमजोर देखिएको छ। जारी सिजनको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध जितका लागि संघर्ष गर्दा उनी १७ बलमा केवल ११ रन बनाएर पेभेलियन फर्किएका थिए।
लामो समयदेखि लय समात्न नसकेका कारण उनी पछिल्लो समय नेपालको राष्ट्रिय क्रिकेट टोलीबाट समेत ड्रप भएका छन्।
अघिल्लो सिजन नै खोसिएको थियो कप्तानी
एनपीएलको अघिल्लो सिजनमा जनकपुरले अनिलकै नेतृत्वमा प्रतियोगिता सुरु गरेको थियो। तर, ब्याटिङमा लगातारको असफलता र कमजोर कप्तानीका कारण टोलीले सिजनकै बीचमा उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गर्यो।
त्यसबेला जनकपुरले दक्षिण अफ्रिकाका पूर्वअन्तर्राष्ट्रिय अलराउन्डर वेन पार्नेललाई टोलीको नयाँ कप्तान नियुक्त गरेको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट तथा विभिन्न विश्वस्तरीय फ्रेन्चाइज लिग खेलेका अनुभवी खेलाडी पार्नेललाई कप्तानी सुम्पिएर जनकपुरले आफ्नो रणनीति बदलेको थियो।
यस सिजनमा पनि टोलीमा नियमित सदस्यको रूपमा रहे पनि व्यवस्थापनले अनिललाई पुनः कप्तानीको जिम्मेवारी सुम्पिएन।
जनकपुर बोल्ट्सले यसपटक टोलीको नेतृत्व अमेरिकी टोलीका अनुभवी खेलाडी हरमीत सिंहलाई दिएको छ।
एनपीएलमा सहभागी आठ फ्रेन्चाइज टोलीहरूमध्ये विदेशी खेलाडीलाई सिजनको सुरुवातमै औपचारिक रूपमा ‘नियमित कप्तान’ घोषणा गर्ने जनकपुर बोल्ट्स पहिलो टिम बनेको छ।
लगातार कप्तान परिवर्तन, राष्ट्रिय टोलीबाट बाहिरिनु र खेलअघिको वार्मअपमा समेत सक्रिय नदेखिनुले अनिल यतिबेला आफ्नो करिअरकै सबैभन्दा कठिन र दबाबपूर्ण मोडबाट गुज्रिरहेको प्रष्ट पार्छ।
कात्तिक १२, २०८३ बिहीबार ११:४१:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।