आयरल्यान्डका कप्तानको औँला भाचियो, ​​​​​​​नामिबियाविरुद्धका बाँकी खेल गुमाउने

आयरल्यान्डका कप्तानको औँला भाचियो, ​​​​​​​नामिबियाविरुद्धका बाँकी खेल गुमाउने

काठमाडौं : आयरल्यान्ड राष्ट्रिय क्रिकेट टोलीका कप्तान पल स्टर्लिङ औँला भाँच्चिएपछि नामिबियाविरुद्धको एकदिवसीय (ओडिआई) अन्तर्राष्ट्रिय शृङ्खलाका बाँकी दुई खेलबाट बाहिरिएका छन्।

३६ वर्षीय ओपनर स्टर्लिङ गत मंगलबार भएको तेस्रो एकदिवसीय खेलमा फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए।

चोटका कारण उनी उक्त खेलमा ब्याटिङ गर्नसमेत मैदान उत्रिन सकेका थिएनन्। सो खेलमा पराजय भोगेसँगै पाँच खेलको शृङ्खलामा आयरल्यान्ड २-१ ले पछाडि परेको छ।

पाँच खेलको शृङ्खला जोगाउन कडा दबाबमा रहेको आयरल्यान्ड र उसका मुख्य प्रशिक्षक ग्यारी विल्सनका लागि अनुभवी कप्तानको अनुपस्थिति ठूलो झट्का बनेको छ।

विन्डहोकमा जारी शृङ्खलाका सुरुआती दुई खेलमा स्टर्लिङ लयमा देखिएका थिए, जहाँ उनले ५६ र ७७ रनको लगातार दुई उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलेका थिए।

गत अक्टोबर २२ मा भएको पहिलो खेल आयरल्यान्डले जितेको भए पनि त्यसपछिका दुई खेलमा भने टोली क्रमशः ३१ रन र ६३ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो।

कप्तान स्टर्लिङ घाइते भएपछि उनको स्थानमा युवा खेलाडी टिम टेक्टरलाई टोलीमा बोलाइएको छ। टिम आयरल्यान्डका अनुभवी मध्यक्रमका ब्याटर ह्यारी टेक्टरका भाइ हुन्। ओडिआईमा हालसम्म डेब्यू नगरेका टिमले आयरल्यान्डका लागि ८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भने खेलिसकेका छन्।

आगामी वर्ष हुने विश्वकप छनोट प्रतियोगिताको तयारीका रूपमा हेरिएको यो शृङ्खलाको चौथो खेल शुक्रबार र पाँचौँ तथा अन्तिम खेल आइतबार हुनेछ।

कात्तिक १२, २०८३ बिहीबार ११:१५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।