भन्सार छलीको सामानसहित तीन जना पक्राउ

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

सुनसरी : धरानबाट प्रहरीले भन्सार छली गरी ल्याइएको सामानसहित तीन जनालाई पक्राउ गरेको छ। 

इटहरीबाट धरानतर्फ आउँदै गरेको एक मिनी ट्रकमा भन्सार छली गरी ल्याइएका नौ लाख ८२ हजार ५० हजार बराबरको किराना तथा खाद्यान्न सामग्री प्रहरी चेकजाँच क्रममा फेला पारेको थियो।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-४ का २५ वर्षीय चालक प्रदीपकुमार साह, जहदा गाउँपालिका-१ का ४२ वर्षीय सहचालक भूपेन्द्र राजवंशी र सोही ठाउँका सहचालक कात्तिक राजवंशी रहेका छन्।

जिल्ला प्रहरी कार्यलय सुनसरीका, सुचना अधिकारी चन्द्रबहादुर खड्काले बरामद गरिएको सामान, मिनी ट्रक र पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको जानकारी दिए। 

कपिलवस्तुमा सात लाखभन्दा बढीका अवैध सामान बरामद कपिलवस्तुः सशस्त्र प्रहरी बल नेपालले कपिलवस्तुका विभिन्न सीमा क्षेत्रबाट सात लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं २८ गण हेडक्वार्टर कपिलवस्तु मातहतका सीमा सुरक्षा गुल्म, बीओपी तथा बेसबाट खटिएको टोलीले सात लाख पाँच हजार ८८० बराबरका लत्ताकपडा, मोटर पाट्र्स, रङ्गोली, किराना सामान तथा आतिशबाजीका सामग्री बरामद गरेको हो।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले जानकारी दिए। 

बरामद गरिएका प्रतिबन्धित आतिशबाजीका सामग्री (पटका) भने स्थानीय भद्रभलाद्मी, नेपाल प्रहरी तथा जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ।

सीमावर्ती क्षेत्रमा अवैध सामानको ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई निरन्तरता दिएको अधिकारीले बताए। 

कात्तिक १२, २०८३ बिहीबार १४:१९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।