मन्त्रालयबाट कृषि अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी

मन्त्रालयबाट कृषि अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी

काठमाडौं : सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग पहुँच रहेको र कृषि फार्मका लागि सरकारी सहुलियत अनुदान सजिलै मिलाइदिने प्रलोभन देखाएर पौने ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

कृषि अनुदान दिलाउने बहानामा जालिम सिंह महतोबाट पटक-पटक गरी कुल ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-१३ ताहाँचल बस्ने ५२ वर्षीय श्रीकृष्ण महर्जन (तिलक बुढाथोकी) र ललितपुर महानगरपालिका-१४ नखिपोट बस्ने ६० वर्षीय प्रेम नारायण खनाल रहेका छन्।

प्रहरीमा परेको जाहेरीअनुसार प्रतिवादी पुजा खड्गी, पक्राउ परेका महर्जन र खनालसहितको समूहले पीडित महतोलाई सिंहदरबारका मन्त्रालयका उच्च तहका कर्मचारीहरूसँग आफ्नो राम्रो चिनजान र पहुँच रहेको विश्वास दिलाएका थिए।

उनीहरूले कृषि फार्म सञ्चालनका लागि सरकारबाट ठूलो रकमको सहुलियत अनुदान सजिलै स्वीकृत गराइदिने भन्दै प्रलोभनमा पारेका थिए।

त्यसपछि अनुदान प्रक्रिया अघि बढाउनेलगायत विभिन्न प्रशासनिक खर्चको बहाना बनाएर उनीहरूले पीडितबाट पटक-पटक गरी ५ करोड ८० लाख रुपैयाँ असुलेका थिए।

तर लामो समयसम्म न अनुदान आयो न त रकम फिर्ता भयो। आफू ठगिएको थाहा पाएपछि महतोले प्रहरीमा जाहेरी दिएका थिए।

जाहेरी परेपछि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई प्रहरीले महर्जन र खनाललाई नियन्त्रणमा लिएको हो।

उनीहरूमाथि अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनामा मुछिएकी अर्की प्रतिवादी पुजा खड्गीलगायत अन्य संलग्नहरूको खोजी तथा अनुसन्धान कार्य जारी रहेको छ।

कात्तिक १२, २०८३ बिहीबार १४:०६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।