कांग्रेस केन्द्रीय सदस्य सुशील भट्टको शपथ रोक्न सभापति गगन थापासमक्ष उजुरी
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत ‘३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधि’ क्लस्टरबाट निर्वाचित केन्द्रीय सदस्य सुशील भट्टको उमेरलाई लिएर विवाद भएको छ।
मनोनयन दर्ताकै दिन ३५ वर्ष उमेर नाघिसकेको दाबी गर्दै उनको उम्मेदवारी खारेजी तथा शपथग्रहण रोक्न माग गर्दै पार्टी सभापतिसमक्ष उजुरी दर्ता भएको छ।
उक्त क्लस्टरबाट खुलातर्फका उम्मेदवार तथा निर्वाचन परिणामअनुसार आठौं स्थानमा रहेका सौगात थापाले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दर्ता नम्बर ४३४ मार्फत सभापतिलाई सम्बोधन गर्दै शपथग्रहण स्थगित गर्न निवेदन दिएका हुन्।
यसअघि उनले गत कात्तिक १ गते केन्द्रीय निर्वाचन समितिमा समेत प्रमाणसहित उजुरी दिएका थिए। तर निर्वाचन समितिबाट कुनै छानबिन र निर्णय नभई आजै नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम तय गरिएपछि थापाले सभापतिको ध्यानाकर्षण गराउँदै शपथ रोक्न माग गरेका हुन्।
उमेर गणनाको विवाद के हो?
निवेदनमा उल्लेख गरिएअनुसार, महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता गर्ने अन्तिम मिति २०८३ असोज २० गते तोकिएको थियो। निर्वाचित सदस्य सुशील भट्टको आधिकारिक जन्ममिति २०४८ असोज १३ गते रहेको उल्लेख गर्दै थापाले मनोनयन दर्ता गर्ने दिनसम्म भट्टले ३५ वर्ष ७ दिन पूरा गरिसकेको दाबी गरेका छन्।
विधानले ‘३५ वर्षमुनि’ का लागि मात्र यो कोटा सुरक्षित गरेकाले उमेर कटिसकेका व्यक्तिको उम्मेदवारी दर्ता हुनु र उनी निर्वाचित हुनु विधानविपरीत रहेको दाबी थापाको छ।
नेपाली कांग्रेसको विधान, २०१७ (एघारौं संशोधनसहित) को परिच्छेद-७, धारा २१ को उपधारा (१०) मा पार्टीको नेतृत्व तहमा नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्येक प्रदेशबाट एक महिलासहित २ जना (कुल १४ जना) र खुलातर्फबाट ७ जना गरी कुल २१ जना ‘३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधि’ केन्द्रीय कार्यसमितिमा निर्वाचित हुने प्रावधान छ।
त्यस्तै, पार्टीको निर्वाचन निर्देशिका तथा नियमावलीअनुसार उम्मेदवारको योग्यता मनोनयन दर्ता हुने दिनलाई आधार मानेर निर्धारण गरिन्छ।
निर्देशिकाबमोजिम उम्मेदवारी दर्ता गर्दा तोकिएको उमेर समूह (३५ वर्षमुनि) का लागि सो मितिसम्म ३५ वर्ष पूरा नभएको आधिकारिक प्रमाण (नागरिकता वा शैक्षिक प्रमाणपत्र) पेस गर्नुपर्ने र सोको परीक्षण गर्ने दायित्व निर्वाचन समितिको हुने व्यवस्था छ।
कुनै उम्मेदवारले योग्यता नपुगी वा गलत विवरण पेस गरी उम्मेदवारी दिएको प्रमाणित भएमा जुनसुकै चरणमा उम्मेदवारी तथा निर्वाचन परिणाम स्वतः बदर हुने कानुनी व्यवस्था छ।
के-के छन् उजुरीकर्ताका माग?
थापाले सभापति र निर्वाचन समितिसमक्ष उमेरसम्बन्धी विवादको निष्पक्ष छानबिन र निरुपण नभएसम्म सम्बन्धित निर्वाचित सदस्यको शपथ रोकिनुपर्ने, सुशील भट्टसहित ३५ वर्षमुनिका युवा क्लस्टरबाट निर्वाचित सबै सदस्यहरूको मनोनयन दर्ता मितिलाई आधार मानी नागरिकता लगायतका प्रमाणित कागजात पुनः परीक्षण गरिनुपर्ने माग गरेका छन्।
यसका अलावा छानबिनमा विधानले तोकेको योग्यता पूरा नभएको ठहरिए उम्मेदवारी र निर्वाचन परिणाम बदर गरी विधान तथा निर्वाचन नियमावलीबमोजिम थप निर्णय गरिनुपर्ने, मनोनयन दर्ताका बखत निर्वाचन समितिबाट उमेर रुजु र प्रमाणीकरणमा लापरबाही भए/नभएको विषयमा संस्थागत जवाफदेहिता खोजिनुपर्ने भनिएको छ।
निवेदक थापाले पार्टीभित्र विधान, विधि र पद्धतिको संरक्षणका लागि आफूले यो कदम चालेको स्पष्ट पारेका छन्। उनले पार्टीभित्रैबाट न्यायपूर्ण र निष्पक्ष निरुपण नभए आफ्नो हक र विधिको शासनको रक्षाका लागि सक्षम न्यायिक निकाय (अदालत/निर्वाचन आयोग) मा जान बाध्य हुने चेतावनीसमेत दिएका छन्।
कात्तिक १२, २०८३ बिहीबार १२:११:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।