हवाई फायर गरी ३१२ ग्राम खैरो हेरोईनसहित सिरहाबाट दुई जना भारतीय नागरिक पक्राउ
काठमाडौं : सिरहाबाट ३१२ ग्राम खैरो हिरोइनसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको मधुबनीका ४४ वर्षीय लालबाबु सिंह र २६ वर्षीय धर्मेन्द्र दास रहेका छन्।
भारतबाट लागुऔषध खैरो हिरोइन ल्याई मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा सप्लाई भइरहेको भन्ने विशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूको निगरानी गरेको थियो। बिहीबार बिहान सिरहा नगरपालिका वडा नं. १३ मल्कनियास्थित भारत मधुबनीबाट जयनगर नाका हुँदै मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेको अवस्थामा उनीहरूलाई फेला पारिएको थियो।
टोलीलाई देखेपछि भाग्न खोजेका उनीहरूलाई १ राउण्ड हवाइ फायर गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट लागूऔषध खैरो हेरोइन ३३२ ग्राम, भारतीय नम्बर प्लेटको बीआर–३२४ भी ७५७४ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल बरामद गरेको छ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा बुझाइएको छ।
कात्तिक १२, २०८३ बिहीबार १२:०५:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।