एनपीएलमा ‘डबल हेडर’ : पहिलो जितको खोजीमा जनकपुर र विराटनगर, कर्णालीलाई लगातार दोस्रो जितको मौका
काठमाडौं : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजका खेलहरूमा पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज तथा दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुनेछन्।
दिनको पहिलो खेल दिउँसो १२ बजे जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच सुरु हुनेछ।
काठमाडौं गोर्खाजका लागि यो जारी प्रतियोगिताको पहिलो खेल हो। काठमाडौं पहिलो खेलमै जनकपुरलाई स्तब्ध पार्दै विजयी सुरुआत गर्ने रणनीतिसहित मैदान उत्रिनेछ।
अर्कोतर्फ, जनकपुरको भने यो दोस्रो खेल हुनेछ। आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको पराजय ब्यहोरेको जनकपुर आज काठमाडौंलाई हराउँदै प्रतियोगितामा कमब्याक गर्ने र पहिलो जित दर्ता गर्ने योजनामा छ।
दिनको दोस्रो खेल साँझ ५ बजे फ्लडलाइट मुनि कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ। यो दुवै टोलीका लागि प्रतियोगिताको दोस्रो खेल हो।
आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेर उच्च मनोबलमा रहेको कर्णाली आज लगातार दोस्रो जित निकाल्दै अङ्क तालिकामा आफ्नो पकड बलियो बनाउन चाहन्छ।
यता, पहिलो खेलमा चितवन राइनोसँग ८ रनको झिनो अन्तरले पराजित भएको विराटनगर किङ्स भने पहिलो जितको खोजीमा हुनेछ। विराटनगर आज उत्कृष्ट पुनरागमन गर्दै अङ्कको खाता खोल्ने दबाबमा मैदान उत्रिनेछ।
कात्तिक १२, २०८३ बिहीबार ०९:५५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।