जन्मकैद सजाय पाएका कैदी कास्की कारागारबाट भर्याङ चढेर भागेपछि...
पोखरा : कर्तव्य ज्यान र डाँका मुद्दामा कास्की कारागारमा जन्मकैदको सजाय काटिरहेका एक कैदी बिजुली मर्मतका लागि ल्याइएको भर्याङ चढेर फरार भएको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उब्जाएको छ।
मध्यरातमा पर्खाल नाघेर भागेका ती कैदीलाई प्रहरीले केही दिनपछि पोखराकै एक होटलबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका-१८ खपौदीका ३७ वर्षीय सन्तोष जलारी गत असोज ३१ गते राति करिब २ बजे कारागारबाट भागेका थिए।
कारागारभित्रै पसल चलाउँदै आएका जलारीले बिजुली मर्मतका लागि ल्याइएको भर्याङ ‘भोलि पनि काम बाँकी छ’ भन्दै आफ्नै पसलनजिक लुकाएर राखेका थिए। उनले सुरक्षाकर्मी र कैदीका नाइकेलाई झुक्याएर मध्यरातमा सोही भर्याङ पर्खालमा लगाएर भाग्न सफल भएका हुन्।
आश्चर्यको कुरा, जलारी राति नै भागे पनि कारागार प्रशासनले भने भोलिपल्ट बिहान नियमित कैदी गणनाका क्रममा मात्र उनी फरार भएको थाहा पाएको थियो। कारागारका जेलर घनश्याम गौतमले घटनापछि कारागारको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न र चासो उठ्नु स्वाभाविक भएको स्वीकार गरे।
कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कैदीका नाइकेहरूको लापरबाहीको फाइदा उठाउँदै जलारी भागेपछि प्रहरीले खोजी तीव्र पारेको थियो। गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले उनलाई कात्तिक ३ गते पोखराकै एक होटलबाट नियन्त्रणमा लिएको हो।
कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार जलारीले कारागारबाट भाग्न एक महिनाअघिदेखि नै योजना बनाएको अनुसन्धानबाट खुलेको छ।
“कारागारबाट यसरी कैदी भाग्ने घटना बिरलै हुन्छन्, यसले कारागारको सुरक्षा संवेदनशीलतामा अझै कडाइ गर्नुपर्ने पाठ सिकाएको छ,” एसपी कार्कीले भने, “ज्यान र डाँका मुद्दामा उनीमाथि २५ वर्ष कैद सजाय पहिलेदेखि नै छ। अब कारागार ऐनअनुसार अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेकाले उनलाई थप ५ वर्षसम्म जेल सजाय हुन सक्छ।”
कात्तिक १२, २०८३ बिहीबार १०:३६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।