नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत कात्तिक १५ गतेदेखि शुल्क लाग्ने
काठमाडौं : कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने भएको छ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सडक बोर्ड नेपालको असोज १२ गतेको निर्णयअनुसार सडक उपभोग दस्तुर सङ्कलन सुरु गर्न लागिएको जानकारी दिएको हो।
सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको थियो। सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ। कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा ६५ र सोही वर्गका सवारीसाधन काठमाडौंबाट प्रस्थान गर्दा भने ६० रूपैयाँ तोकिएको छ।
त्यस्तै, मिनीबस, मिनी टिपर/ट्रकका लागि काठमाडौं प्रवेश गर्दा १२५ रूपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा भने ८० रूपैयाँ दस्तुर तोकिएको छ।
त्यसैगरी बस, ट्रक (सिङ्गल रियर एक्सल) सवारीको लागि काठमाडौं प्रवेश गर्दा २६० रूपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा २०० रूपैयाँ दस्तुर तोकिएको छ।
त्यसैगरी मल्टिएक्सल ट्रक/सवारीसाधन, भारी उपकरणको लागि काठमाडौं प्रवेश गर्दा ६०० रूपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा २५० रूपैयाँ दस्तुर तोकिएको छ। यो सुरुङमार्ग गत साउन ११ गते उद्घाटन गरेर सवारीसाधन परीक्षणका रूपमा सवारीसाधन गुडाउँदै आइरहेको छ।
कात्तिक १२, २०८३ बिहीबार १०:१५:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।