साइबर सुरक्षा जोखिमका कारण बन्द गरिएका अधिकांश सरकारी वेबसाइट खुले, केहीमा अझै समस्या

साइबर सुरक्षा जोखिमका कारण बन्द गरिएका अधिकांश सरकारी वेबसाइट खुले, केहीमा अझै समस्या

काठमाडौं : वेबसाइट निर्माणमा प्रयोग गरिने 'पीएचपी'  नामको प्रोग्रामिङ ल्याङ्ग्वेजमा गम्भीर सुरक्षा जोखिम देखिएपछि गत बिहीबारदेखि बन्द रहेका नेपालका सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू पुनः सञ्चालनमा आएका छन्।

दशैँको लामो बिदापछि सोमबार खुलेका सरकारी कार्यालयहरूमा अनलाइन प्रणाली सुचालु भएसँगै सेवाग्राहीहरूले नियमित सेवा पाउन थालेका छन्।

अधिकांश सरकारी वेबसाइटमार्फत सेवा सुचालु भए पनि काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरूमा भने अनलाइन सिफारिस प्रणालीमा समस्या देखिएको छ। काठमाडौं महानगरपालिकाको ३१ नम्बर वडा कार्यालयका वडासचिव सुरेश साहु श्रेष्ठका अनुसार अनलाइन प्रणाली नचल्दा सिफारिससम्बन्धी काममा असहजता भएको छ।

अनलाइन सिस्टममा समस्या आएका कारण सेवाग्राहीको काम नरोकियोस् भनेर कम्प्युटरमा टाइपिङ गरी प्रिन्ट गरेर सिफारिस दिने गरिएको उनले जानकारी दिए।

साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थाहरूलाई 'पीएचपी' को सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसकिएको खण्डमा वेबसाइटहरू अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका थिए। सोही अनुसार नेपालका अधिकांश सरकारी वेबसाइटहरू केही समयका लागि बन्द गरिएका थिए।

नेपाल सरकारको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार आवश्यक सुरक्षा प्याच जडान र प्राविधिक परीक्षणपश्चात् अधिकांश सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुनः  सञ्चालनमा आएका छन्।

कात्तिक ९, २०८३ सोमबार १६:०१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।