सप्तकोशीमा बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

सप्तकोशीमा बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

भोजपुर : भोजपुरबाट सुनसरी जाँदै गरेको यात्रुवाहक बोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

आइतबार दिउँसो करिब साढे एक बजेतिर भोजपुरको कोप्चेबाट १४ जना यात्रु बोकेर सुनसरीको वराहक्षेत्रतर्फ आउँदै गरेको बोट दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भाेजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर खडकाले बताए।

नदीमा चलिरहेकै अवस्थामा बोटको इन्जिन अचानक बन्द भएपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

दुर्घटनापछि गम्भीर घाइते भएका चार जनामध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको र एक जनाको उपचार भइरहेको छ। अन्य यात्रुहरूको उद्धार गरिए पनि दुर्घटनापछि नदीमा बेपत्ता भएका एक जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

कात्तिक ८, २०८३ आइतबार १६:५६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।