कबड्डी ५ : अब कसरी पत्याउने रामबाबुलाई !
कुनै खेलको फाइनल म्याच सकियो। विजयी टिम ट्रफी बोकेर घर फर्किसक्यो। तर अकस्मात् नतिजामा विवाद निकालेर पुनः त्यही फाइनल म्याच खेलाइयो भने त्यो खेल हेर्ने दर्शकका लागि कतिसम्म रोमाञ्चक होला?
यदि त्यो खेलमा क्रिस्टियानो रोनाल्डो वा लियोनल मेसी जस्ता स्टार खेलाडी छन् भने पुराना वा रेकर्डेड म्याच हेरेरै पनि रमाउने फ्यानहरू त खुसी नै होलान्। तर, कसैको अन्धभक्त नभई केवल निष्पक्ष खेल र कलाको आधारमा मूल्याङ्कन गर्ने दर्शकले के त्यही दोहोरिएको खेलमा उस्तै रोमाञ्चकता पाउन सक्लान्?
'फाइनल म्याच' भन्दै चौथो सिक्वेलमै शृङ्खलाको बिट मारिएको सन्देश दिएका निर्देशक रामबाबु गुरुङले पुनः 'कबड्डी ५: आफ्टर द फाइनल म्याच' रिलिज गरेपछि यो फिल्म पनि उही नतिजा घोषित भइसकेको खेल पुनः दोहोर्याएर खेलाए जस्तै महसुस भयो। अझ सिक्वेलै भए पनि नयाँपन खोज्ने दर्शकका लागि यो रेकर्डेड म्याच हेरे बराबरकै सहजै पूर्नुमानयोग्य फिल्म देखियो।
'कबड्डी' सिरिजको पहिलो भाग आउँदा नेपाली फिल्म क्षेत्रमा यसले अर्ग्यानिक कथा, परिवेश र पात्र बोकेर आएको थियो। मुस्ताङको परिवेश, थकाली समुदायको संस्कृति, एकतर्फी प्रेमको मिठास, र काजीको सोझोपनले दर्शकको मन जितेको थियो।
पहिलो र दोस्रो भागमा कथावस्तु निकै अर्ग्यानिक थियो। पात्रहरूको मनोदशा, संवादको धारिलोपन र स्थानीय भाषाको प्रयोगले फिल्मलाई जीवन्त बनाएको थियो।
तेस्रो र चौथो भागमा आइपुग्दा कथामा नयाँ पात्रहरूको प्रवेश गराइयो (जस्तै सौगात मल्ल र मिरुना मगर)। चौथो भागलाई त 'फाइनल म्याच' नै भनियो, जहाँ काजीको प्रेम जीवनले एउटा टुङ्गो पाउने र कथाको विधिवत् अन्त्य गराइएको सुखद मोडमा फिल्मको अन्त्य गराइयो।
यी अघिल्ला सिक्वेलहरूको मुख्य सबल पक्ष भनेको स्वाद फेरिरहने हास्यव्यङ्ग्य, परिवेश सुहाउँदो सांगीतिक पक्ष र पात्रहरूको स्वाभाविक अभिनय (विशेषगरी दयाहाङ, बुद्धि र विजयको जोडी) थियो।
यद्यपि, तेस्रो र चौथो भागसम्म आइपुग्दा कथा दोहोरिन थालेको अनुभव भइसकेको थियो। काजीको चरित्र एउटै गोलचक्करमा घुमाइयो। बुद्धि र विजयको चरित्रमा नयाँ द्वन्द्वको निर्माण गर्न निर्देशक सफल भएका थिएनन्। नयाँ पात्र फिल्ममा घुसाउने र काजीलाई अवरोध गर्ने द्वन्द्वको एकै शैली दोहोर्याइयो।
चौथो भागमै कथा र पटकथामा समस्या देखिन थालिसकेको थियो। त्यसमा सबैभन्दा निरस नै बलियो द्वन्द्वको निर्माणमा भइरहेको चुक थियो। तै पनि 'फाइनल म्याच' भनेकाले दर्शक काजीको प्रेम यात्राको साक्षी बन्न हलसम्म पुगे। आर्थिक रूपमा फिल्म सफल पनि भयो। अब यो कथा सकियो भनेर दर्शकमा एउटा भावनात्मक सन्तुष्टि देखिएको थियो।
तर, व्यावसायिक सफलताको मोहका कारण कुनै ठोस कथाको योजनाबिना नै पुन निर्देशक रामबाबुले काजीको टुंगिसकेको प्रेम यात्रालाई पुन बल्झाएर पाँचौँ सिक्वेलको निर्माण गरे अनि अघिल्ला कमजोरीलाई सुधार्नुको साटो समस्याको थुप्रोहरू लगाएर 'कबड्डी ५' लाई यो सिरिजकै सबैभन्दा कमजोर फिल्ममा सूचीकृत गरे।
किनकि पाँचौँ भागसम्म आइपुग्दा पनि फिल्मको मुख्य द्वन्द्व उही काजीको विवाह र प्रेम सम्बन्धमै अड्किएको छ। सिक्वेलपिच्छे कहिले सौगात मल्ल त कहिले अरू नै नयाँ पात्र भित्र्याएर द्वन्द्व सिर्जना गरेजस्तै, यसपटक विपिन कार्कीलाई भित्र्याइएको छ। तर, विडम्बना ! विपिनको पात्रले फिल्ममा न त बलियो द्वन्द्व सिर्जना गर्न सकेको छ, न त कुनै बिर्सनै नसकिने ट्विस्ट नै ल्याउन सकेको छ।
'कबड्डी ४' जहाँबाट अन्त्य भएको थियो, 'कबड्डी ५' को कथा त्यहीँबाट सुरु हुन्छ। शान्ति मिस (मिरुना मगर) सँगको सुखान्ततर्फ उन्मुख सम्बन्ध पुनः दुखान्तमा परिणत हुन्छ। तर चौथो भागमा छाएकी शान्ति मिस पाँचौँ भागमा आएर पटकथाबाट बिचैमा कता हराउँछिन्, त्यसको स्पष्ट आधार देखिँदैन। यस्तै, पुरानी 'मैयाँ' (रेश्मा गुरुङ) को पुनः प्रवेश र नयाँ मैयाँ (सिर्जना गुरुङ) को आगमनलाई नै निर्देशकले मुख्य द्वन्द्व बनाउने प्रयास गरेका छन्। जुन निकै कमजोर छ।
फिल्ममा बाबु-छोराको उही नोकझोक, बिके र छन्त्यालको 'नेपालमै बस्ने कि विदेश जाने?' भन्ने उही पुराना गन्थन, बिचमा केही सानातिना ट्विस्ट र अन्त्यमा जबरजस्ती पस्किएको 'ह्यापी इन्डिङ'। समग्रमा कबड्डी-५ को संरचना यस्तै नै छ।
कबड्डीदेखि कबड्डी ५ सम्म पनि बलियो पक्ष पात्रहरुबीचको संवाद नै हो जसले हाँस्यरसको निर्माण गर्छ। कबड्डी ५ को पहिलो हाफमा कमेडीको डोज राम्रै छ। मुस्ताङको सुन्दर दृश्यले यसमा पनि निरन्तरता पाएको छ। सशक्त संवाद र काजी (दयाहाङ राई) को बलियो अभिनयले दर्शकलाई थुप्रै ठाउँमा हँसाउँछ। पाँचौँ सिक्वेलमा पुग्दा सहायक पात्रहरूलाई केन्द्रमा ल्याउने निर्देशकसँग अवसर नभएको हैन। तर निर्देशक यसमा पनि दयाहाङको क्यारेक्टरमै बढी फोकस भएका छन्।
फिल्मको सबैभन्दा बलियो पक्ष काजी र उनका बुबा (पुष्कर गुरुङ) बीचको सम्बन्ध र संवाद नै हो। बाबु-छोरा बीचको घोचपेच र संवादले पारिवारिक जिम्मेवारी र उमेरसँगै आउने परिपक्वताको महसुस गराउँछ। पाँचौँ शृङ्खलामा आएर दयाहाङले बल्ल अब उमेर ढल्कन थालेको र केही इलम गर्नुपर्ने बेला भएको महसुस गरेका छन्।
सिनेमाटोग्राफी र सम्पादनमा खासै समस्या देखिँदैन। 'थाकखोला' बोलको गीत कर्णप्रिय छ र यसले कथाको बहावलाई बिगार्दैन पनि।
दयाहाङसँग विवाह गरेकी नयाँ मैयाँ (सिर्जना गुरुङ) लाई 'पापाकी परी' त भनिएको छ, तर उनी कसरी 'पापाकी परी' (पुलपुलिएकी) भइन् भन्ने कुरा कथामा खुल्दैन। संवाद बाहेक अन्यत्र पापाकी परीको अर्थ खुल्दैन। यस्तै, पुरानी मैयाँ बनेकी रेश्मा गुरुङको अभिनय ठिकै भए पनि कथामा उनको उपस्थिति बलियो बन्न सकेको छैन। उनी र विपिनको प्रवेश केवल फिल्मलाई द्धन्द्धहिन हुनबाट जोगाउने मेसो मात्रै देखिन्छ।
विपिन यो फिल्ममा हुनु र नहुनुमा कुनै भिन्नता देखिन्न। न उनको लवज मिलेको छ न त चरित्र निर्माण नै कबड्डीको कथा यात्रा सुहाउँदो नै देखिन्छ।
पहिलो हाफको तुलनामा दोस्रो हाफ त झन् कमजोर छ। पहिलो हाफमा मुस्ताङको दृश्य र कमेडीले केही हदसम्म धानेको देखिन्छ। दोस्रो हाफ पूर्णतया भद्रगोल देखिन्छ। ब्याकग्राउन्ड म्युजिक ले दृश्यको गम्भीरतालाई समात्न सकेको अनुभव हुन्न। सबैभन्दा ठूलो कमजोरी त क्लाइमेक्समा देखिन्छ, फिल्म यस पटक पनि सुखान्त मोडमा लगेर सक्काइएको छ तर कथा कसरी र किन त्यो 'ह्यापी इन्डिङ' सम्म पुग्यो भन्ने आधार स्पष्ट खुल्दैन।
बिके (विजय बराल) र छन्त्याल (बुद्धि तामाङ) को क्यारेक्टरमा कुनै नयाँपन छैन। उनीहरूको भूमिका निर्देशकले बेलाबेला दिक्क बनाएका दर्शकलाई 'फ्रेस' बनाउनमै प्रयोग भएका छन्।
सिक्वेल बिट मारेर पुन कथा ब्युँताउने निर्देशकको कामले यो दर्शकमाथिको ठगी हैन र भन्ने प्रश्न पनि जन्माएको छ। कुनै पनि सिर्जनात्मक कलामा 'ठगी' शब्द अलि कडा सुनिन सक्छ, तर रामबाबुले कबड्डी ५ जुन तहको निर्माण गरे त्यसले हैन भनेर तर्क गर्ने ठाउँ निकै सीमित गरिदिएको छ।
चौथो भागलाई अन्तिम भागको रूपमा प्रस्तुत गरिसकेपछि दर्शकहरू त्यसै अनुसारको मानसिक तयारीकासाथ हलमा गएका थिए। तर, कुनै नयाँ वैचारिक वा कथात्मक आधारबिना केवल ब्रान्ड नेमको व्यावसायिक लाभ मात्रै उठाउने नियतले जबरजस्ती पाँचौँ सिक्वेल निकालिनुले दर्शकको विश्वासमाथि कुठाराघात हो भन्नु रामबाबुमाथि अन्याय हुने देखिन्न।
जब निर्माता-निर्देशकले 'अन्तिम म्याच' वा 'फाइनल' भन्दै दर्शकको भावना, समय र पैसासँग भावनात्मक रूपमा खेल्छन् र त्यसको बदलामा फितलो कथा पस्कन्छन्, तब दर्शकहरू ठगिएको महसुस गर्नु स्वाभाविक पनि हो। निर्माता, निर्देशक र लेखकका रूपमा कबड्डी ५ मा पुग्दा निर्माता रामबाबु निर्देशक र लेखक रामबाबुमाथि निकै हाबी भएको प्रस्ट देखियो।
रामबाबुले कबड्डी सिक्वेलाई पाँचौँ शृङ्खलामा पुर्याउँदा हलुका र निकै सतही कथा बुनेका छन्। यस कारण फिल्मको बलियो फ्यान फलोइङका कारण यसबाट पनि उनले राम्रै अर्थोपार्जन त गर्लान् तर दर्शकको विश्वास आर्जन गर्न भने गाह्रै होला।
अन्त्यमा, साढे दुई घण्टा लामो यो फिल्म हेर्दा पनि ठिकै, नहेर्दा पनि फरक नपर्ने खालको बनेको अनुभव हुन्छ। यदि हलमा गएर बिना कुनै तर्क, केवल कबड्डीका पात्रहरूसँग हल्का हाँस्न चाहनेहरूका लागि फिल्मले निराश नबनाउला। तर, यदि 'कबड्डी' ब्रान्डप्रति वफादार भए पनि परिपक्व कथा, नयाँपन र तार्किक उत्तरको अपेक्षा राख्ने हो भने 'कबड्डी ५' ले निराशा र असन्तुष्ट बाहेक थप अनुभव गराउन्न।
कात्तिक ८, २०८३ आइतबार २१:००:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।