कम्युनिष्ट सरकारका उपलब्धि सार्वजनिक गर्ने माधव नेपालको घोषणा, भने - 'जस नदिने, अपजस मात्र थोपर्ने नियत स्वीकार्य छैन'
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिलाई स्वार्थीहरूको खेलका रूपमा प्रस्तुत गर्ने र पुराना दलहरूले देशका लागि केही गरेनन् भनेर फैलाइएको गलत भाष्यलाई तथ्य र प्रमाणका आधारमा चिर्नुपर्ने बताएका छन्।
शनिबार पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ उद्घाटन गर्दै नेपालले पछिल्लो समय राजनीतिलाई व्यक्तिगत स्वार्थ पूर्ति गर्ने माध्यमका रूपमा चित्रण गर्न खोजिएको भन्दै त्यसप्रति उनले असन्तुष्टि जनाए। उनले शहीद र योद्धाहरूले आफ्ना व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको स्वाभिमान, जनताको मुक्ति र विभेदमुक्त सुन्दर समाज निर्माणका लागि बलिदान दिएको स्मरण गराए।
पुराना पार्टी र नेताहरूले देशमा केही पनि गरेनन् भनी निर्माण गरिएको भाष्यप्रति लक्षित गर्दै उनले मनोगत ढङ्गले आरोप-प्रत्यारोप गर्नुभन्दा तथ्य र तथ्याङ्कमा आधारित रहेर बहस गर्न चुनौती दिए।
"एउटा भाष्य के छ भने, यी पुराना पार्टीहरूले केही पनि गरेनन्, यी पुराना नेताहरूले केही पनि गरेनन्, देशमा केही पनि भएन। त्यो भाष्य कति सही हो, कति गलत हो—यो मनोगत ढङ्गले आरोप लगाएर हुँदैन, तथ्यगत रूपमा पुष्टि गर्नुपर्ने हुन्छ। तथ्य र प्रमाणले पुष्टि गर्छ भने त्यसलाई स्वीकार गर्न तयार हुनुपर्छ। तथ्यले त्यसलाई खण्डन गर्छ भने त्यसलाई अस्वीकार गर्न पनि तयार हुनुपर्छ," उनले भने।
उनले २०४७ साल यता वामपन्थी तथा कम्युनिष्ट नेतृत्वका सरकारहरूले देश र जनताका पक्षमा गरेका कामहरूको विस्तृत विवरणसहित जनतामाझ प्रकाशन गर्ने घोषणा समेत गरे। काम गर्ने क्रममा भएका कमी कमजोरीको दलहरूले समीक्षा गर्नुपर्ने तर राम्रो कामको जस नदिने र अपजस मात्रै थोपर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ थियो।
उनले भने, "विभिन्न समयमा सरकारमा हामीले पनि जिम्मेवारी सम्हालेका हौँ। हाम्रै पार्टीको तर्फबाट कमरेड प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुनुभयो, म आफैंले पनि त्यसपश्चात प्रधानमन्त्री भएर देश हाँक्ने जिम्मेवारी पाएँ। संघ, प्रदेश र पालिकासम्म हाम्रा नेता–कार्यकर्ताले जिम्मेवारी सम्हालेर गरेका कामहरूको विवरण हामी छिट्टै प्रकाशित गर्नेछौँ। ०४७ सालयता कम्युनिष्टहरूले के–के जिम्मेवारी पूरा गरे भन्ने प्रश्नको जवाफ सिधै देख्न सकिने गरी ल्याउँछौँ। आज गरिएका जोखिमपूर्ण र राम्रा कामहरूलाई ढाकछोप गर्ने, चर्चा र जस दिन नचाहने तर अपजस मात्रै अरूको थाप्लोमा पार्ने प्रवृत्ति व्याप्त छ।"
यसैगरी, राष्ट्रिय हित र देशको स्वाभिमानमाथि आँच पुर्याउने कुनै पनि कार्य आफूहरूका लागि स्वीकार्य नहुने स्पष्ट पार्दै उनले राष्ट्रियताको रक्षा र जनचेतना अभिवृद्धिका लागि नै यो जागरण अभियान सञ्चालन गरिएको बताए।
कात्तिक ७, २०८३ शनिबार १८:०१:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।