कांग्रेसले गुमाएको मत होइन, विश्वास हो : गगन थापा

कांग्रेसले गुमाएको मत होइन, विश्वास हो : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले पछिल्लो समय गुमाएको कुरा मत नभई जनताको ‘विश्वास’ भएको बताएका छन्। गुमेको जनविश्वास पुनर्स्थापित गर्न सके मत स्वतः पार्टीको पक्षमा आउने उल्लेख गर्दै उनले चुनाव जित्न घर-घर गएर मत मात्र मागेर नहुने बताएका हुन्।

स्याङ्जामा सोमबार पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन थापाले जनविश्वास पुनर्स्थापित गर्न संगठनको मिहिनेत र पार्टीको छवि सुधार्नुपर्नेमा जोड दिए। 

“हामीले गुमाएको मत होइन, विश्वास हो। विश्वास पुनर्स्थापित भएपछि मत त्यसैलाई पछ्याउँदै आउँछ। विश्वास भएको बेला मत आफैँ आउँछ, विश्वास गुमायो भने मत आफैँ गुम्छ,” थापाले भने, “हामीले घर-घर गएर मत थेग्छु भनेर मात्र मत थेगिन्न।”

पहिलो संविधानसभा निर्वाचनमा पार्टीले अहिलेको जस्तो भोगेको पराजयलाई स्मरण गर्दै थापाले त्यति बेला पनि कांग्रेस सानो र कमजोर भइयो भनेर थला परेर नबसेको बताए। तर, कांग्रेसले त्यति बेला उदार प्रजातान्त्रिक मूल्य र वैयक्तिक स्वतन्त्रता जोगाउन नडराई डटेर लड्दा नागरिकको विश्वास पुनः जित्न सफल भएको उनको भनाइ छ। 

थापाले भने, “हामीले फलको चिन्ता नगरी निष्काम कर्म गर्यौँ। कांग्रेस नभई दोस्रो संविधानसभा सफल हुँदैन भन्ने स्थिति बन्यो र अन्ततः तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा २०७० सालमा पार्टीले भव्य सफलता प्राप्त गर्यो।”

अहिले फेरि त्यसै गरी जनताको विश्वास जित्न मंसिर महिनाभर पार्टीको वैचारिक सन्देश लिएर जनताको घरदैलोमा पुग्न उनले निर्देशन दिए। केही दिनभित्रै बस्ने केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको नयाँ सन्देश, विचार र प्रस्तावहरू पारित गरिने जानकारी दिँदै उनले भने, “ती सबै प्रस्ताव र सन्देश लिएर मंसिरको एक महिना तपाईंहरू गाउँ-गाउँ र घर-घरमा पुग्नुपर्नेछ।”

थापाले निर्वाचनका बेला दुई दिन वा दुई घण्टाअगाडि टिकट खोसाखोस गर्ने र माथिबाटै लाद्ने पुरानो प्रवृत्ति अब पूर्ण रूपमा अन्त्य गरिने बताए। पार्टी विधानमै व्यवस्था संशोधन गरिसकिएकाले अब उम्मेदवार छनोट पारदर्शी र डिजिटल माध्यमबाट गरिने उनले बताए।

थापाका अनुसार आगामी एक महिनाभित्र पार्टी सदस्यता तथा सिस्टम अद्यावधिक गर्ने काम टुंग्याइनेछ। त्यस लगत्तै पुस र माघ महिनाभित्र तल्लो तहका साथीहरूको गोप्य डिजिटल मतदानमार्फत योग्य उम्मेदवारहरूको प्रारम्भिक सूची तयार पारिनेछ।

“डिजिटल्ली मतदान हुन्छ, कसले कसलाई छान्नुभयो भन्ने गोप्य रहन्छ। त्यसबाट आएको उम्मेदवार बनाउन चाहेको योग्य साथीहरूको प्रारम्भिक सूची गर्छौं। त्यो सूचीमा विभिन्न तहमा छलफल गरेर चुनावभन्दा कम्तीमा दुई-तीन महिना अगावै अन्तिम उम्मेदवार टुंग्याइनेछ,” थापाले भने, “उम्मेदवारहरू समयमै चुनावी मैदानमा जानुहुनेछ। पहिला जस्तो माथिबाट टिकट बाँड्ने र खोस्ने सबै कुरा अब व्यवहारबाटै बदल्छौं।”

कात्तिक ९, २०८३ सोमबार १५:०७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।