उदयपुरको मरुवामा जिप दुर्घटना, १५ जना घाइते

उदयपुरको मरुवामा जिप दुर्घटना, १५ जना घाइते

काठमाडौं : उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप अचानक ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी जिप चालक उदयपुरको कटारी नगरपालिका–११ बस्ने २९ वर्षीय निर्प बहादुर खड्कासहित १५ जना घाइते भएका छन्। दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि कटारी अस्पताल पठाइएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये कटारी–२ का ७१ वर्षीय राम बहादुर मगरलाई भने थप उपचारका लागि विराटनगर पठाइएको छ।

सामान्य घाइते भएका जिप चालक खड्कालाई उपचारपश्चात् प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कात्तिक ९, २०८३ सोमबार १५:०१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।